काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ७१ लाख ८६ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।
कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ७१ लाख ८६ हजार ८ सय ५२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ५७ हजार ३३१ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड २३ लाख ८६ हजार १४० छ ।
सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३५ हजार ८२२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ३२ लाख १९ हजार ९९९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६१ हजार ६६ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ९६० जनाले ज्यान गुमाएका छन् ।
अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १७ लाख ५९ हजार १०३ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार १९९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६९ हजार २५४ पुगेको छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार ६२३ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २५ हजार ७९० जना नयाँ संक्रमित थपिएका छन् ।
प्रतिकृया दिनुहॊस