काठमाडौ । नेपाल प्रेस युनियन केन्द्रीय समितिले ‘कोबिड १९ ले प्रेसमा पारेको प्रभाव ः अबका चुनौती, समाधानका उपाय’ विषयक बृहत्त अन्तरक्रियात्मक सम्मेलन कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधि तथा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा.मिनेन्द्र रिजालले आफ्नो धारणा राख्नुभएको थियो ।
उक्त कार्यक्रममा उपसभापति बिमलेन्द्र नीधिले अहिलेको सरकार मिडिया हाउसहरु सकेसम्म कम होउन् भन्ने सोचमा रहेको आरोप लगाउनुभयो । उहाँले यस्तो जटिल अवस्थामा ज्यान जोखिममा राखेर फिल्डमा खटिएका पत्रकारहरुको सर्पोटका लागि सोच्नु भन्दापनि सकेसम्म संख्या घटाएर आफ्ना विचारमा सहमति जनाउने पत्रकार र मिडिया हाउसमात्र जोगाउन चाहेको विचार राख्नुभयो । यस्तो विषम परिस्थितिमा नेपाली काँग्रेस पत्रकारले कोरोनाका कारण भोग्नुपरको समस्याका बारेमा जानकार भएको र सक्दो सहयोग गर्ने बचनबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा.मिनेन्द्र रिजालले पत्रकारको समस्यामा राज्य उत्तरदायी हुनुपर्ने धारणा राख्नुभयो । उहाँले अहिले कोरोनाले विश्वभरनै अतिनै प्रभाव पारेको र त्यसमा पनि पत्रकारिता क्षेत्रलाई सहयोगको आवश्यकता भएकोले सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्ने विचार राख्नुभयो । कार्यक्रमको अध्यक्षता गर्नुभएका नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले सरकारले यथासक्य पत्रकारका समस्याका बारेमा बुझेर राहत प्याकेज ल्याउनुपर्ने वताउनुभयो । कार्यक्रममा नेपाल प्रेस युनियनका बरिष्ठ उपाध्यक्ष दीपक आचार्य र महासचिव अजयवावू शिवाकोटीले कोभिड १९ ले पत्रकारिता क्षेत्रमा पारेको प्रभाव र चुनौतीका विषयमा धारणा ब्यक्त गर्नुभएको थियो ।




