विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीका कारण देश यति बेला लकडाउनको अवस्थामा छ । उद्योग, कलकारखाना, व्यापार व्यवसाय सबै क्षेत्र ठप्पप्राय छन् । यसै सन्दर्भमा कोरोनाले इन्स्योरेन्स क्षेत्रमा पारेको प्रभाव र असरबारे अजोड इन्स्योरेन्सका सिईओ कुमार बहादुर खत्रीको धारणा :-
अहिले विश्वभरनै कोरोनाले प्रभाव पारेको छ । लकडाउनका कारण नेपालमा उद्योग, ब्यवसायहरु बन्द अवस्थामा छन् । यस्तो परिस्थितिमा बीमा क्षेत्र पनि नराम्ररी प्रभावित भएको छ । अजोड ईन्स्योरेन्समा हामीले कार्यालयबाट पनि काम गरिराखेका छौं । अनलाइनबाट पोलिसीका कामहरू भईराखेका छन् ।
समग्र आर्थिक क्रियाकलाप ठप्प भएपछि बीमा व्यवसाय पनि स्वतः कोरोनाको मारमा परेको छ । निर्जीवन बीमा अन्र्तर्गत पर्ने मोटर बीमा, ट्राभल्स बीमा अहिले ठप्प छ । यस्तो अवस्थामा सरकारले समग्र क्षेत्रलाई बन्द गर्नु उपयुक्त हुँदैन । पूर्णरुपमा लकडाउन भन्दा पनि सावधानी अपनाएर बीमा लगायतका अन्य ब्यवसायलाई सुचारु गराउनुपर्छ । कोरोना प्रभावित क्षेत्रलाई थप कडाइ गरेर कम प्रभावित र जोखिम कम भएका क्षेत्रलाई खुला गर्नु तत्कालको आवश्यकता हो । लकडाउनको कारण समग्र आर्थिक क्षेत्र नै ठप्प हुने अवस्था आएको छ । यसले देशको अर्थतन्त्रनै डामाडोल हुन्छ ।
आगामी बजेटमा कृषि बीमालाई जोड दिनु आवश्यक देखिन्छ । कृषि बीमा पनि लागत भन्दा उत्पादन तर्फ केन्द्रीत भए राम्रो हुन्छ । यसका साथैै घर बीमालाई अनिवार्य गर्ने ब्यवस्था आवश्यक देखिन्छ । सरकारी सम्पत्तिको समेत बीमा गर्ने निति अवलम्बन गर्न सरकार अग्रसर भए राम्रो हुनेथियो । लघु बीमा रहेको भ्याट र कर हटाउने लगायतमा आगामी वजेट केन्द्रित हुनुपर्छ । मुख्यकुरा यसरी सबै ब्यवसाय ठप्प पार्नुभन्दा पनि सचेत भएर सरकारले उद्योग तथा व्यबसाय खुल्ला गर्नु आवश्यक छ ।




