बागलुङ । घुम्टेको सौन्दर्य वसन्त याममा बढी खुल्छ । पर्यटकीय लेक गुराँसले राताम्मे हुन्छ । अनेक प्रजातिका गुराँस फुल्छन् । हरेक नयाँ वर्षमा ‘गुराँस उत्सव’ चल्छ । गुराँस नफुल्दा तीन हजार १२० मिटर अग्लो घुम्टे लेकको साख घट्छ । लाग्छ, घुम्टे र गुराँस एक अर्काका पर्याय हुन् । गलकोटस्थित घुम्टे लेकको सौन्दर्य नासिन नदिन र पर्यावरण जोगाउन गाउँले लागिपरेका छन् ।
गुराँस संरक्षणमा जुटेका छन् । गुराँस मासे जोकोहीलाई कारवाही हुन्छ । जथाभावी गुराँस टिप्न पनि रोक लगाइएको छ । चरिचरनदेखि कटान नियन्त्रण गरिएको छ । “हाँगासमेत भाँच्न पाइँदैन, त्यस्तो गरेको भेटिएमा कारवाही हुन्छ”, घुम्टे–कौलेनी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सूर्यबहादुर थापाले भने ।
घुम्टे लेकको पर्यटकीय आकर्षण टिकाउन गुराँस संरक्षणमा लाग्नुपरेको उनको भनाइ छ । चरन र काठ–दाउरा चोरीले गुराँस नासिन थालेपछि संरक्षण योजना ल्याइएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका अध्यक्ष झङ्कबहादुर बस्नेतले बताए । शुरुमा गाउँलेले सर्वपक्षीय भेला डाकी गुराँसको बोट, हाँगाबिँगा काट्न नपाइने निर्णय गरेका थिए ।
“वि.सं २०७० देखि नै गुराँस संरक्षणको प्रयास अगाडि बढाइएको हो”, उनले भने, “सामुदायिक वनसँगको सहकार्यमा हामीले पनि काम गरिरहेका छौँ ।” केन्द्रको पहलमा गत वर्षायाममा घुम्टे जाने पदमार्ग छेउछाउमा १५० गुराँसका बिरुवा रोपिएको उनको भनाइ छ ।
केन्द्रले गुराँसको बोटबिरुवा मासेको कहीँकतै भेटिए वन ऐनअनुसार कारवाही प्रक्रिया अगाडि बढाउन सामुदायिक वनलाई आग्रह गरेको छ ।
गुराँसको घना जङ्गल भने घुम्टेको राष्ट्रिय वन क्षेत्रमा छ । यसअघि पशुचौपायाको खुला चरनका कारण गुराँसको नयाँ बिरुवा हुर्कनै समस्या थियो । गुराँस संरक्षण अभियान चलेपछि स्वःस्फूर्तरुपमा काठ–दाउरा कटान र चरन रोकिएको स्थानीयवासी बताउँछन् ।
गुराँस बलियो काठ भएकाले फर्निचर, ठेकाठेकी, दाउरा र जडीबुटीजन्य औषधि बनाउनसमेत प्रयोग हुँदै आएको थियो । गलकोट नगरपालिका–५ टेउवादेखि शुरु हुने पदमार्गमा हिँडेदेखि नै गुराँसका बोट भेटिन थाल्छन् । जतिमाथि चढ्यो उति बाक्लो गुराँसे जङ्गल पुगिन्छ ।
प्रतिकृया दिनुहॊस