काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस विश्वका ८० देशमा फैलिएपछि यतिबेला नेपालमा पनि कोरोना संक्रमणको त्रास बढेको छ । संक्रमित देश र अन्य देशबाट नेपाल आउने व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शरीरको तापक्रम जाँच गर्ने व्यवस्था गरिएको छ ।
तर विमानस्थलमा स्वास्थ्य जाँच व्यवस्थित नभएको गुनासो सुनिएको छ । यात्रुको जाँच र शंका लागेका व्यक्तिको परीक्षण प्रणालीमाथि नै प्रश्न उठिरहेको छ । यता सरकारले भने कोरोना भाइरसको संक्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सतर्कता अपनाएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मन्त्रालयले विभिन्न तीन वटा समिति निर्माण गरी संक्रमण भित्रिन नदिन आवश्यक तयारी भइरहेको बताए ।
नेपालमा अहिलेसम्म कोरोना संक्रमित नरहेका कारण विदेशबाट आउनेहरुमार्फत संक्रमण नभित्रियोस् भनेर चनाखो रहनुपर्ने आवश्यकता रहेको उनको भनाई छ । यसका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसोको समयमा चिकित्सकसहित ६-७ जनाको टोलीले विदेशबाट आउने यात्रुहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्ने र शंकास्पदलाई स्वास्थ्योपचारका लागि पठाउनेसहितको व्यवस्था गरिएको उनको भनाइ छ । यस्तै रातिको समयमा पनि विमानस्थलमा कम्तीमा ४ जनाको टोली रहने उनले बताए ।
उनले छिमेकी मुलुक भारतबाट विभिन्न १३ वटा औषधी नेपाल पठाउन रोक लगाइएको बारे सरकारको ध्यानाकर्षण भएको जानकारी दिँदै ती औषधीको पर्याप्त ‘स्टक’ रहेकाले तत्काल कुनै प्रकारको फरक नपर्ने बताए । दीर्घकालिन रुपमा सरकारले उक्त समस्या समाधानका लागि भारत सरकारलाई आग्रह गर्ने र औषधी आयातको अवस्थालाई सामान्य तुल्याइने उनको भनाइ छ ।
यसअघि सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले पनि नेपालमा कोरोना संक्रमित नपाइएका कारण आत्तिनु पर्ने अवस्था नरहेको बताए । यद्यपि सरकारले संक्रमण भित्रिन नदिन प्रभावकारी ढङ्गले काम गरिरहेको जानकारी दिँदै उनले स्थलमार्गबाट आउने यात्रुमार्फत पनि संक्रमण फैलन सक्ने भएकाले विभिन्न ३७ वटा नाकामा स्वास्थ्यकर्मीसहितको टोली परिचालन गरिएको बताए ।



