नुवाकोट । नुवाकोटको विदुर नगरपालिकामा नवविवाहित युवती मृत भेटिएकी छिन् । उनले त्रिशुली नदीमा हामफाल्न खोज्दा ज्यान गुमाएको प्रहरी अनुमान छ । युवतीको मृत्यु भएपछि प्रहरीले सोही स्थानमा अचेत अवस्थामा फेला परेका उनका पतिलाई पक्राउ गरेको छ ।
२१ वर्षीय सञ्जु खातीले बुधवार राति त्रिशुलीमा हाम फालेकी थिइन् । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ ढुंगेबजारस्थित खोलासँगै जोडिएको एक चार तले घरको बरन्डाबाट त्रिशुलीमा हाम फालेकी सञ्जुको नदीसँगको बगरमा बजारिएर मृत्यु भएको प्रहरीले अनुमान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अविनारायण काफ्लेका अनुसार चारतला माथिबाट हाम फाल्दा बगरमा ठोकिएर मृत्यु भएको देखिएको र घटना बारे थप अनुसन्धान भइरहेको छ । बगरमा अचेत अवस्थामा फेला परेकी उनलाई जिल्ला अस्पताल त्रिशुली पु¥याइएको थियो तर चिकित्सकहरुले उनलाई मृत घोषित गरे । उनका पति २२ वर्षका मौसम खाती पनि बेहोस अवस्थामा फेला परेका थिए । उनको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।




