काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौं उपत्यकाका थप तीनवटा कार्यालयहरुमा प्रविधिमैत्री सेवा विस्तार गरेको छ। ट्राफिक नियम उल्लंघन गरेबापतको कसूरमा कारवाहीको लागि खिचिएका कागजपत्रहरुको अभिलेख व्यवस्थापनको लागि ट्राफिक प्रहरी महाशाखाले संचालनमा ल्याईरहेको Traffic Violation Record System (TVRS) Software फाल्गुन २० गते देखि लागू हुने गरी महाशाखा मातहतका ट्राफिक प्रहरी परिसर भक्तपुर, महानगरीय ट्राफिक प्रहरी बृत्त, नयां बसपार्क तथा महानगरीय ट्राफिक प्रहरी प्रभाग र गौशालामा संचालनमा ल्याएको हो।
ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार ट्राफिक कारवाहीलाई तीब्र रुपमा कार्यान्वय गरिएको कारण कारवाहीको लागि खिचिएका कागजपत्रहरु फिर्ता लिने सेवाग्राहीहरुको चाप दिनानुदिन बढदै गएकोले कागजपत्रहरु फिर्ता प्राप्त गर्ने कार्यमा सहजता एवं सरलता प्रदान गर्ने अभिप्रायले सो सेवा मातहतका कार्यालयहरुमा समेत विस्तार गरिएको हो।
भक्तपुर जिल्ला भित्र कारवाहीको लागि खिचिएका कागजपत्रहरु भक्तपुर, चुनदेवीस्थित ट्राफिक प्रहरी कार्यालयबाट, नयां बसपार्क एरियाका कारवाहीको लागि खिचिएका कागपत्रहरु सोही स्थानको ट्राफिक प्रहरी कायालयबाट तथा गौशाला तथा एयरपोर्ट एरियामा कारवाहीको लागि खिचिएका कागजपत्रहरु ट्राफिक प्रहरी कार्यालय गौशालाबाट नियमानुसार तोकिएको जरिवाना भुक्तानी गरे पश्चात फिर्ता लिन सकिने व्यवस्था मिलाईएको छ।
यो सेवा महाशाखा लगायत महाराजगञ्ज, थापाथली , कालिमाटी, कलंकी, सातदोवाटो, दरवारमार्ग, बौद्ध र कोटेश्वर पहिले देखि नै सञ्चालनमा रहेको जानकारी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठले दिए । काठमाडौं उपत्यकामा दैनिक रूपमा २,५०० देखि ३,००० चालकहरु ट्राफिक नियम उल्लंघन गरेबापत ट्राफिक प्रहरीको कारवाहीमा पर्ने गर्दछन्।




