काठमाडौं । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा समेत असर परेको छ । चीनकै आर्थिक वृद्धि करीब तीन प्रतिशत घट्ने प्रक्षेपण भइरहँदा नेपाली अर्थतन्त्र पनि अछुतो छैन । भाइरसको संक्रमण नेपालमा नदेखिएपनि यसको असर भने पर्यटन र व्यापार क्षेत्रमा परेको छ । जसले, आर्थिक वृद्धिमा ह्रास ल्याउने आंकलन सुरु भएको छ ।
गत डिसेम्बरदेखि चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले चीनको अर्थतन्त्रमा ३० वर्ष यताकै मन्दी छायो । जानकारका अनुसार चालू आर्थिक वर्ष चीनको आर्थिक वृद्धिदर लगभग ३ प्रतिशत कम हुने प्रक्षेपण गरिएको छ । यता, चीनबाट फैलिएको कोरोनाका कारण नेपालको अर्थतन्त्रमा असर परिरहेको छ, भने संक्रमण थप फैलिए आर्थिक बृद्धिमा धक्का लाग्ने स्वयं सरकारको दाबी छ ।
कोरोनाका कारण नाका ठप्प हुँदा राजश्व संकलनमा प्रभाव पारेको छ । हवाई तर्फका उडान बन्द छन्, भने बजेट मार्फत लिएको ८ प्रतिशतको आर्थिक वृद्धिदर गर्ने महत्वाकांक्षी लक्ष्यलाई थप असर पु¥याएको छ । जोखिम बढेपछि चीन जोड्ने प्रमुख व्यापारिक नाका केरुङ गएको १६ माघदेखि ठप्प छ । तातोपानी नाका पनि एक महिनादेखि बन्द छ ।नाका बन्द गरिनुअघि पनि चिनियाँ नयाँ वर्ष परेकाले आयात सुस्त थियो । यसले बजारमा चीनबाट आउने सामग्रीको अभाव हुन थालेको व्यवसायीको गुनासो छ ।
कोरोना महामारीको प्रत्यक्ष असर भने नेपालको पर्यटन क्षेत्रले भोगिरहेको छ । मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कम्तीमा ३ प्रतिशत योगदान गर्ने पर्यटन क्षेत्र पछिल्लो समय थलिन थालेको छ । भ्रमण वर्ष २०२० स्थगित गरिएपनि कोरोनाको कारण थप अन्योलको अवस्थामा होटल व्यवसायी पुगेका छन् । चिनियाँ ठेकेदार नआउँदा जलविद्युत आयोजनाको काममा पनि असर परेको छ ।
प्रतिकृया दिनुहॊस