काठामाडौँ । चैत मसान्तभित्र नयाँ विद्युत् महसुल दर निर्धारण गर्ने गरी विद्युुत् नियमन आयोगले प्रक्रिया अघि बढाएको छ । नेपाल विद्युत् प्राधिकरणले पेस गरेको विद्युत् महसुल प्रस्तावमा सर्वसाधारणको प्रतिक्रिया लिन भन्दै आयोगले प्रस्तावित दरहरू सार्वजनिक गरको छ ।
प्राधिकरणले पेस गरेको प्रस्ताव फागुन १ गते आयोगमा दर्ता भएको थियो । प्राधिकरणले सो पत्रको जवाफसहित संशोधित प्रस्ताव पुनः आयोगमा पठाएपछि आयोगले दर्ता गरेको थियो । महसुल समायोजन प्रस्ताव अनुसार सिङ्गल फेज गार्हस्थ उपभोक्तालाई छ समूहमा राखिएको छ । यस अनुसार ०–१०, ११–२०, २१–५०, ५१–१००, १०१–२५० र २५० भन्दा गरी समूह निर्धारण गरिएको छ । प्राधिकरणले १० युनिटसम्म शुल्क नलाग्ने गरी पाँच एम्पियर क्षमताका ग्राहकसँग ३० रुपियाँ न्यूनतम चार्ज लिने प्रस्ताव गरेको छ ।
इनर्जी शुल्कतर्फ ११ देखि २० युनिट खपतमा पाँच एम्पियर क्षमता जडित ग्राहकलाई प्रतियुनिट तीन रुपियाँ प्रस्ताव गरिएको छ भने १५ एम्पियरका ग्राहकलाई चार रुपियाँ, ३० एम्पियरलाई पाँच र ६० लाई छ रुपियाँ प्रस्ताव गरिएको छ । २१ देखि ५० युनिटसम्म दर भने सबैलाई समान आठ रुपियाँ ५० पैसा प्रस्ताव गरिएको छ । ५१ देखि १०० युनिटका लागि प्रतियुनिट नौ रुपियाँ ७५ पैसा प्रस्ताव गरिएको छ । १०१ देखि २५० युनिटसम्मका लागि १० रुपियाँ ५० पैसा र २५० माथि खपत हुँदा ११ रुपियाँ ५० पैसा तोकिएको छ ।
प्राधिकरणले प्रस्ताव गरेको नयाँ महसुल संरचनामा पहिलोपटक सार्वजनिक यातायात चार्जिङ स्टेसनको महसुललाई समेटिएको छ । यसमा चार्जिङ स्टेसनले तोकिएको दरमा बढीमा २० प्रतिशतसम्म मात्र नाफा लिन पाउने व्यवस्था छ । यस्ता स्टेसनमा ३३ केभीका लागि पिक समयमा प्रतियुनिट आठ रुपियाँ ४० पैसा र अन्य समयमा छ रुपियाँ ६० पैसा र राति ११ बजेदेखि बिहान ५ बजेसम्म ४ रुपियाँ ४५ पैसा प्रस्ताव गरिएको छ । ११ केभी र लो भोल्टेजमा केही बढी प्रस्ताव गरिएको छ । पुसदेखि चैतसम्म भने पिक र अन्य समयको मात्र प्रस्ताव गरिएको छ । अफ पिकको सस्तो दर यसमा समेटिएको छैन ।



