काठमाडाै । खल्ती डिजिटल वालेट र भाटभटेनी ग्रुप बीच खल्ती एपबाटै मनी ट्रान्सफर सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता पत्रमा भाटभटेनी ग्रुप द्वारा प्रबर्धित भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक मुनाल जंग कार्की र खल्तीका निर्देशक अमित अग्रवालले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब खल्ती एपबाट सिधै पैसा पठाउन सकिने र भाटभटेनी सुपरमार्केट तथा भाटभटेनीका देशैभरी रहेका २५ सय
भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत उक्त पैसा झिक्न सकिनेछ।
यस सम्झौतासँगै खल्तीले एपमा रेमिट्यान्स नाम गरेको एउटा नयाँ आइकन ल्याएको छ।
उक्त आइकनमा क्लिक गरी खल्ती प्रयोगकर्ताले आफ्ना साथीभाई तथा परिवारलाई पठाउन चाहेको रकम सजिलै पठाउन सक्नेछन्। यसरी पैसा पठाईसकेपछि पाउनुपर्ने पाउने व्यक्तिले आफ्नो मोबाईलमा एसएमएस मार्फत एउटा पिन प्राप्त गर्न सक्नेछन्।
प्राप्तकर्ताले तोकिएको भाटभटेनी सुपरमार्केट अथवा रेमिट्यान्स एजेन्टको कार्यालयमा गई उक्त पिन देखाएर सहज तथा सरल रुपमा पैसा निकाल्न सक्नेछन्।
यसका साथै अब खल्ती प्रयोगकर्ताले भाटभटेनी सुपरमार्केट तथा देशैभरी रहेका रेमिट्यान्स एजेन्ट मार्फत खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन्।




