चितवन । राप्ती र नारायणी नदीमा गएकाे वर्ष छाडिएका तीन वटा गोही मरेको अवस्थामा भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बगेका यी दुई नदी र भङ्गालाहरुमा गरिएको अनुगमनका क्रममा सात गोही जालमा बेरिएको अवस्थामा समेत फेला परेका छन् ।
निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काका अनुसार नारायणीको गोलाघाट क्षेत्रमा दुई वटा र राप्तीको बाराही होटल नजिकै एउटा गोही मृत अवस्थामा भेटिएको हो । ती गोही मर्नुका कारण पत्ता लगाउन पोस्टमार्टम गर्न अङ्ग पठाइएको छ । अधिकृत खड्काले भने, ‘मर्नुको कारण यहाँ पत्ता नलागे विदेशी विज्ञहरुसँगसमेत परामर्श गर्ने तयारीमा छौँ ।’
यसअघि यसै वर्ष दुई वटा गोही मरेको अवस्थामा भेटिएको थियो । संरक्षण अधिकृत खड्काका अनुसार भदौमा राप्तीको ढुङ्ग्रे खोलामा पुछर र स्याटलाइट मात्रै फेला परेको थियो । त्यस्तै असोजमा निलडामसहित अमलटारी क्षेत्रमा नारायणी नदीमा एउटा गोही फेला परेको थियो । यी दुवै गोही स्याटलाइट जडान गरी छाडिएका हुन् । मानिसले गोही मारेर खाएको आशङ्का समेत गरिएको जनाइएको छ ।
राप्तीमा चार वटा र नारायणीमा तीन गोही जालमा बेरिएको अवस्थामा भेटिएका छन् । ती गोहीलाई नियन्त्रणमा लिएर जाल हटाउने काम आइतबारबाट नै थालिने निकुञ्जले जनाएको छ । मुखमा जाल बेरिएको अवस्थामा गोही फेला परेका हुन् । अनुगमनका क्रममा नारायणीमा चार वटा र राप्तीमा एउटा भाले गोही फेला परेका छन् ।




