सबै विकासे मन्त्रालयको खर्च ४० प्रतिशतभन्दा न्यून

काठमाडौं । सरकारी खर्चको ठूलो हिस्सा ओगट्ने विभिन्न विकासे मन्त्रालयको खर्चको अवस्था न्यून रहेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षाअनुसार सबै मन्त्रालयको बजेट खर्चको अवस्था न्यून रहेको हो ।

अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा कुल बजेटको २७.६ प्रतिशतमात्रै खर्च भएको जनाएको छ । ६ महिना बित्दा पनि विकासे मन्त्रालयको बजेट खर्च ४० प्रतिशतभन्दा न्यून रहेको छ । समीक्षा अवधिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको १० अर्ब ६२ करोड विनियोजन भएकोमध्ये एक अर्ब ७२ करोड अर्थात् १६.२ प्रतिशतमात्रै खर्च भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयको २९ प्रतिशत अर्थात् ८ अर्ब १४ करोडमात्रै खर्च भएको छ । मन्त्रालयको यस वर्षको लागि २८ अर्ब ९ करोड विनियोजन भएको थियो । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जम्मा १९.९ प्रतिशतमात्रै खर्च भएको छ । मन्त्रालयलाई चालू आर्थिक वर्षको लागि एक खर्ब ५६ अर्ब छुट्टयाएकोमध्ये ३१ अर्ब १० करोडमात्रै खर्च भएको छ । सडक पूर्वाधार विकासको काममा भएको ढिलाइले उल्लेख्य प्रगति हुन नसकेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयको पनि जम्मा १४.४ प्रतिशतमात्रै खर्च भएको छ । विनियोजित ४६ अर्ब ४८ करोडमध्ये ६ अर्ब ७० करोडमात्रै खर्च भएको जनाएको हो । उसले ठेक्कागत प्रक्रियामा भएको विलम्बको कारण खर्च न्यून भएको जनाएको छ । सहरी विकास मन्त्रालयले ६ महिनाको अवधिमा २८ प्रतिशतमात्रै खर्च गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यस अवधिमा २०.९ प्रतिशत खर्च गरेको छ । मन्त्रालयलाई चालू आर्थिक वर्षको लागि पाँच अर्ब २८ करोड बजेट विनियोजन गरिएकोमध्ये एक अर्ब १० करोडमात्रै खर्च गरेको हो । यस्तै, शिक्षा मन्त्रालयको ३० प्रतिशत, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको ८.१ प्रतिशत, वन तथा वातावरण मन्त्रालयको २३.५ प्रतिशत, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको ४०.२ प्रतिशत तथा स्वास्थ तथा जनसंख्या मन्त्रालयको २३.४ प्रतिशत र श्रम मन्त्रालयको अत्यन्तै न्यून अर्थात् ४.१ प्रतिशत खर्च भएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनचाँदीको भाउ बढ्यो

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस