काठमाडौँ । अरुलाई नैतिकताको पाठ सिकाउने डा. गोविन्द केसीकै ‘तीनथरी’ को जन्ममिति भेटिएको छ । डा. केसीको नागरिकता, एसएलसीको चारित्रिक प्रमाणपत्र र बढुवा फारममा फरक-फरक जन्म मिति भेटिएको हो ।
नागरिकतामा डा. केसीको जन्ममिति २७ असोज २०१३ छ भने एसएलसीको चारित्रिक प्रमाणपत्रमा २४ माघ २०१३ रहेको पाइएको छ । यस्तै उपप्राध्यापक रहँदा सहप्राध्यापकमा बढुवा हुनका लागि भरेको आवेदन फारममा जन्ममिति २७ मंसिर २०१३ उल्लेख छ ।
आफ्नो जन्ममितिलाई लिएर सामाजिक सञ्जालमा फरक–फरक बहस भैरहदा डा. केसीले शिक्षण अस्पतालमा पत्रकार सम्मेलन गरेर त्रुटी स्वीकार गरेका छन् । प्राविधिक त्रुटीका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमामा फरक जन्ममिति हुन पुगेको उनले बताए ।
उनले अघि भने, जहाँसम्म मैले बढुवाका लागि भरेको आवेदनहरुमा पर्न गएको फरक जन्ममितिको कुरा छ, तिनमा मानवीय त्रुटी भएको म स्वीकार गर्छु ।’




