काठमाडौँ । रियल बेटिसमाथि ३-२ गोलको सङ्घर्षपूर्ण जित हात पार्दै बार्सिलोनाले शीर्ष स्थानको रियाल मड्रिडसँग अङ्क दूरी छोट्याएको छ। गएराति सम्पन्न खेलमा दुई पटक पछि परेको अवस्थामा बार्सिलोनाले सङ्घर्षपूर्ण जित हात पारेको हो।
उक्त जितसँगै बार्सिलोनाले २३ खेलबाट ४९ अङ्क जोडेको छ, जुन शीर्ष स्थानको रियालको भन्दा ३ अङ्क कम हो। यसअघि रियालले ओसासुनामाथि जित हात पार्दै बार्सिलाेनासँग ६ अङ्ककाे अग्रता कायम गरेकाे थियाे।
बेटिसले खेलको छैठौं मिनेटमा सर्जिओ क्यानल्सको गोलबाट अग्रता लिएको थियो। तर, फ्रेन्कीई डे जोङले गोल गर्दै बार्सिलोनालाई १-१ को बराबरीमा ल्याए।
नाबिल फकिरले २६ औं मिनेटमा गोल गरेपछि बार्सिलोना पुनः २-१ ले पछाडि पर्यो। पहिलो हाफको इन्जुरी समयमा सर्जियो बुस्केटको गोलमार्फत बासिलोना बराबरीमा फर्कियो।
मध्यान्तरपछि ७२ औं मिनेटमा क्लेमेन्ट लेङलेटले गोल गरे र बार्सिलोनालाई महत्त्वपूर्ण ३ अङ्क दिलाए।
खेलको अन्तिम समयमा दुवै टोली १०-१० खेलाडीमा सीमित बनेका थिए। बेटिसका फकिर ७६ औं र बार्सिलोनाका लेङलेट ७९ मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
बार्सिलोनाका स्ट्राइकर लिओनल मेसी आफैंले गोल गर्नं नसके पनि तीन वटै गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।
प्रतिकृया दिनुहॊस