आन्दोलन र अभियानका जगमा फस्टाउँदै पोखरेली साहित्य

काठमाडाैँ । प्रकृतिको वरदानका रुपमा विश्वकै पर्यटकीय स्थलका रुपमा चर्चित पोखरा साहित्य सिर्जनाका लागि पनि उत्तिकै उपयुक्त स्थल हो । कवि शिरोमणि लेखनाथ पौड्यालदेखि जनकवि केशरी धर्मराज थापा, लोक कवि अलिमियाजस्ता थुप्रै नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वको जन्मथलोसमेत हो पोखरा । पुराना मात्र नभई पछिल्ला पुस्ताका दर्जनौँ कवि, कवयत्री र कलाकार पोखराले पाएको छ । अग्रजको प्रेरणा लिएर अहिले क्रियाशील पोखरेली साहित्यानुरागीलाई यहाँ चलेका साहित्यिक कार्यक्रम तथा अभियानले प्रेरित गरेका छन् ।

नेपाली साहित्य क्षेत्रमा चर्चा कमाएको संरक्षण कविता आन्दोलन पोखरेली साहित्यकारकै पहलमा थालिएको थियो । नेपाली कविताको मौलिक राष्ट्रिय आन्दोलनका रुपमा २०५५ असोजमा साहित्यकार सरुभक्तको संयोजकत्वमा या अघि बढेको थियो । मुस्ताङको प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको रानीपौवामा पाँचबुँदे घोषणापत्रसहित यो आन्दोलन थालिएको अभियानका संयोजक सरुभक्तले बताए । सरुभक्त, विनोद गौचन, भुपिन व्याकुल, धनप्रसाद तामाङ, दिनेश श्रेष्ठ (जे–अस्मिता) र पुष्प आचार्यले रानीपौवाबाट थालेको आन्दोलनले तिनताका साहित्यिक गतिविधिलाई निरन्तरताका साथै यस क्षेत्रमा साहित्यकार तयार गर्न प्रेरित गर्यो ।

आन्दोलनअन्तर्गत हिमाल, पहाड र तराईका विभिन्न स्थानमा पुगी त्यहाँका जीवनका भोगाइ र वास्तविकतालाई साहित्यकारले आफ्ना रचनामा उतार्दै स्थानीयलाई सुनाए । “ हालसम्म ६० स्थानमा पुगी साहित्यकारले त्यहाँका जीवन, भोगाइ र वास्तविकतालाई आफ्ना रचनामा उतारेका छन्”, उनले थपे । पोखरेली साहित्यकारले संरक्षण कविता आन्दोलन शुरु गर्नु अघि २०५३ सालदेखि संरक्षण कविता यात्रा गर्दै आएका थिए । यात्रामा अन्नपूर्ण आधार शिविरलगायतका स्थानमा पुगेको स्मरण गर्दै उनले यही यात्राका जगमा संरक्षण कविता आन्दोलन थालिएको बताए ।

संरक्षण कवितामा बढ्दो सहभागिताले नयाँ कवि तथा कवयत्री तयार गर्यो भने विविध साहित्यिक गतिवधि बढाउन वातावरण बनायो । यसैबीचमा साहित्यका माध्यमबाट गाउँ पर्यटनलाई जोड्ने मुख्य उद्देश्यसाथ २०६२ असार १८ गते लेखनाथको सुन्दरीडाँडाबाट पोखराको अर्को साहित्यिक अभियान ‘अक्षरयात्रा’ थालियो । गजल सन्ध्या पोखरा र नवनित साहित्य सागरको संयुक्त आयोजनामा सञ्चालित अक्षरयात्रा प्रत्येक महिनाको तेस्रो शनिबार देशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम गरिन्छ ।

तिनताका साहित्य लेखनमा क्रियाशील प्रकट पगेनी शिव, दीपक समिप, कृष्ण उदासी, लक्ष्मण थापालगायतको सक्रियतामा शुरु अक्षरयात्राले १७३ औँ शृङ्खला कटाएको छ । ‘जीवन र जगत्को यथार्थ बोधका लागि अक्षरयात्रा’ नारासाथ समाजका यथार्थतालाई साहित्यिक रचनाका माध्यमबाट अक्षरयात्रीले पस्कने गरेका नवनित साहित्य सागरका अध्यक्ष लक्ष्मण थापाले बताए ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

तेस्रो लगानी सम्मेलन आजदेखि, ५५ बढी देशका लगानीकर्ता सहभागी

काठमाडौँ । मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर कलकारखाना, उद्योगधन्दा स्थापनालगायत आर्थिक उन्नयनका परियोजना कार्यान्वयन गर्ने लक्ष्यका साथ आजदेखि तेस्रो लगानी सम्मेलन हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने सम्मेलनमा लगानीका निम्ति नौ खर्ब बराबरका १५१ परियोजना प्रस्तुत गरिँदै छन् ।

प्रतिकृया दिनुहॊस