हरेक वर्ष जाडोले विभिन्न जिल्लामा धेरैको मृत्यु हुने गर्छ । विगतका वर्षहरू जस्तै यो वर्ष पनि जाडो र शीतलहरका कारण देशभर २ दर्जनभन्दा धेरै व्यक्तिको ज्यान गएको छ ।
जाडोका कारण यसरी यति धेरै मानिसहरुको ज्यान गएपछि यसबाट गरिबी र जाडोमा यसले पार्ने प्रभाव कस्तो छ भनेर देखाउँछ । भर्खरै सामाजिक सञ्जालमा एकजना ब्यक्तिले बोराको लुगा सिलाएर लगाएको दृष्य ज्यादै मर्मस्पर्शी र कारुणिक छ ।
जाडोबाट तराईका जिल्लाहरु सबैभन्दा बढी प्रभावित छन् । शीतलहरसँगै चिसो हावाका कारण ज्यान गुमाउनेमा तराईका बासिन्दा चिसोले मात्रै होईन की गरीविका कारण पनि मृत्युवरण गरिरहेका छन् । उनीहरुले लगाउने बाक्लो लुगा र ओढ्ने तथा ओच्छ्याउने अभावका कारण मर्नुपरेको हो । 
विशेषत तराईमा जाडोको समयमा शीतलहर बढी चल्छ । यसबाट रिक्सा चलाउने, निर्माणको काम गर्ने, भारी बोक्ने, बाटोमा बसेर व्यापार गर्नेहरु चिसोबाट बढी प्रभावित भएका छन् । जाडोमा दैनिक ज्यालादारी गर्ने मजदुर तथा श्रमिकको जीवन झनै कष्टकर बन्ने गर्छ । यसबाट विशेषत बालबालिका, बिरामी तथा वृद्धवृद्धा बढी प्रभावित हुने गर्छन् ।
चिसोकै कारण मौसमी रुघाखोकी, निमोनिया र ज्वरोले जनजीवन अस्तब्यस्त बनेको छ । तराईमा न्यानो लुगा अभावमा जीवन संकटपूर्ण बन्दै गएको छ ।
त्यतिमात्रै होईन अज्ञानता, अशिक्षा र चिसोमा अपनाउनुपर्ने सजगता थाहा नभएर सर्वसाधारण झनै पीडित बनेका छन । चिसोबाट मृत्यु भएका समाचार दिनहुँ आउन थालेपछि स्थानीय सरकार, सार्माजिक तथा परोपकारी संस्थाले केहि दाउरा तथा कम्बल वितरण गरिरहेका छन् ।
यस्तो संकटमा दुईचार जना व्यक्तिको सहयोगले समस्या समाधान हुँदैन । स्थानीय सरकार यस्तो समस्या निराकरणका लागि अग्रसर हुनुपर्छ । तराईमा जाडोयाममा शीतलहरले धेरैको ज्यान लिन्छ भने गर्मीयाममा लू लागेर कष्टकर बन्छ । यसमा एक÷दुई परोपकारी मान्छे र संस्थाले सहयोग गर्दैमा तमाम पीडितको समस्या समाधान हुन सक्दैन ।
यसका लागि सरकार नै अग्रसर हुनुपर्छ । यस्तो समयमा गर्नुपर्ने तयारी सरकारको पहिलो जिम्मेवारीभित्र पर्छ । अब त स्थानीय सरकारले नै यसमा तदारुकता देखाउनुपर्छ ।जाडोमा बन्दकोठामा आगो बालेर सुत्दा अक्सिजन नपाएर पनि केहिको ज्यान गएको छ ।
जाडोमा सडक वालवालिका र सडकलाई वासस्थान बनाउनेहरुको अवस्था पनि ज्यादै नाजुक देखिन्छ । उनीहरु यस्तो जाडोमा खुल्ला सडकमुनि रात कटाउन बाध्य छन् । चिसोमा बच्ने उपायमा सकेसम्म तातोपानी, सुप लगायत शरीर न्यानो पार्ने खानेकुरा खानुपर्छ ।
हामीले घरमा प्रयोगमा नआउने लुगाकपडा थुपारेर राख्छौं । यस्तो मुटु काप्ने जाडोमा अप्ठेरामा परेकाहरुलाई सकेको सहयोग गर्नु मानवीय धर्म हो । सकिन्छ भने नयाँ नसके उपयोग गर्न मिल्ने लत्ताकपडा संकलन गरेर चिसोप्रभावित व्यक्ति तथा बस्तीमा र्पुयाउनु हामी सबैको कर्तव्य हो ।
तराईका जिल्लाहरुमा हाम्रा दाजुभाई तथा दिदीबहिनी माथी परेको यो संकट सबै मिलेर टार्नुपर्छ । राज्यले चिसोले भन्दा पनि गरीविका कारण एकसरो तातो लुगाको अभावमा मर्न बाध्य भएको तीतो यथार्थलाई मनन गर्दै जम्मेवार नागरिकको दायित्व पूरा गर्न कदापि पछि पर्नु हुँदैन ।
कल्पना शर्मा




