मध्यपूर्वमा युद्ध भए ११ लाख नेपाली जोखिममा

काठमाडाैं । इरान र अमेरिकाबीच तनाव बढ्दै गए मध्यपूर्वमा रोजगारीको सिलसिलामा रहेका १० लाखभन्दा बढी नेपाली जोखिममा पर्ने भएका छन् । इराकलगायत मुलुकमा रहेका नेपाली अहिलेसम्म सुरक्षित रहे पनि संकट थपिँदै जाँदा उनीहरूको उद्धार गर्न तयारी हालतमा बस्नुपर्ने निष्कर्ष सरकारले निकालेको छ ।

मध्यपूर्वमा रहेका नेपालीको उद्धार गर्न नेपाल वायुसेवा निगमको जहाज तयारी अवस्थामा राख्ने निर्णय परराष्ट्र मन्त्रालयमा बिहीबार बसेको सबै सरोकारवाला निकायबीचको बैठकले गरेको छ । बैठकमा परराष्ट्रसहित प्रधानमन्त्री कार्यालय, श्रम, रक्षा, संस्कृति तथा पर्यटन, अर्थ, गृह मन्त्रालयका अधिकारी, नेपाली सेना, वैदेशिक रोजगार विभाग र अध्यागमन विभागका अधिकारी सहभागी थिए ।

नेपाल सरकार पछिल्लो परिस्थितिपछि सतर्क अवस्थामा रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले बताए । ‘अहिलेसम्म परिस्थिति बिग्रिसकेको छैन । आवश्यक परे नेपाली नागरिकको उद्धार गर्न तत्पर अवस्थामा हामी छौँ,’ उनले भने । इराकमा रहेका नेपाली कामदारलाई विमान चार्टर्ड गरेरै उद्धार गर्ने तयारीका लागि पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ ।

त्यसको विकल्पमा सरकारले इराकमा रहेका कामदारलई समुद्री मार्ग हुँदै भारत वा साउदी अरबसम्म ल्याउने, भारतसम्म ल्याइएका कामदारलाई बसबाट र साउदी अरबसम्म ल्याइएका कामदारलाई जहाजबाट उद्धार गर्ने गरी योजना बनाएको छ । बैठकले खाडी मुलुकको परिस्थिति र नेपालीको सुरक्षा अवस्था विश्लेषण गर्न परराष्ट्र मन्त्रालयका पश्चिम एसिया महाशाखा प्रमुख हरिश्चन्द्र घिमिरेको संयोजकत्वमा अन्तर्निकाय समन्वय समिति गठन गरेको छ ।

हालसम्म इराकमा युद्धको प्रभाव नपरे पनि सम्भावित जोखिमलाई मध्यनजर गरी सरकारले खाडी क्षेत्रका सबै राजदूतावासलाई समेत सतर्क रहन निर्देशन दिने पनि निर्णय भएको छ । बैठकले सम्बन्धित मुलुकको पछिल्लो विकासक्रमको अध्ययन गर्ने र नियमित रिपोर्टिङ गर्ने, नेपालीसँग निकट सम्पर्कमा रहने, उनीहरूलाई पनि दूतावासको सम्पर्कमा रहन आग्रह गर्ने र अतिआवश्यकबाहेकको अवस्थामा बाहिर हिँडडुल नगर्न आग्रह गर्ने दूतावासहरूलाई तीनबुँदे सर्कुलर जारी गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले आपत्कालीन अवस्थामा खाडी क्षेत्रमा कार्यरत नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा समन्वय समिति गठन गरेको बताए । ‘इरान र अमेरिकाबीच युद्ध हुने अवस्थामा खाडी मुलुकमा रहेका नेपाली कामदार असुरक्षित हुन सक्छन् । त्यसलाई मध्यनजर गरेर हामीले सबै तयारी गरेका छौँ । आवश्यक पर्दा जुनसुकै वेला उद्धार गर्न सकिने संयन्त्र बनाउँदै छौँ, त्यो सरकारको दायित्व हो,’ उनले भने । नयाँ पत्रिकाबाट

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

असई हत्या प्रकरणमा संलग्न लोसपाका सांसद शर्मा निलम्बित

काठमाडौँ । लोसपाका सांसद अभिराम शर्मा निलम्बन भएका छन् । शुक्रवार मधेश प्रदेशका सभामुख रामचन्द्र …

प्रतिकृया दिनुहॊस