माछापुच्छ्रे प्रदेशस्तरीय फुटबल प्रतियोगिता आगामी माघ १ देखि

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका-४ लाहाचोकमा गण्डकी प्रदेशस्तरीय खुला फुटबल प्रतियोगिता हुने भएको छ। ‘स्वस्थ नागरिकका लागि खेलकुद’ भन्ने नारासहित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लबले स्थानीयस्तरबाटै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले आगामी माघ १ देखि ६ गतेसम्म दोस्रो संस्करणको प्रतियोगिता गर्न लागेको जनाएको छ।

महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना हुने प्रतियोगिताको विजेताले एक लाख ५५ हजार ५ सय ५५ रुपैयाँ, ट्रफी तथा उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँ पुरस्कार तथा ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक राजेन्द्र गौतमले जानकारी दिए। त्यसैगरी, उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, र सर्वाधिक गोलकर्तालाई समेत नगद पुरस्कार प्रदान गरिने जानकारी दिइएकाे छ।

प्रतियोगिता सम्पन्न गर्नका लागि विभिन्न १२ वटा उपसमिति गठन गरेर तयारी तीव्र पारिएको बताउँदै क्लबका अध्यक्ष नीरज शाहीले गण्डकी प्रदेशभित्रका क्लबलाई मात्र सहभागी गराइने बताए।

राष्ट्रपति रनिङ शिल्ड माघ १० देखि

माछापुच्छ्रे गाउँपालिकाले आगामी माघ १० देखि १२ गतेसम्म राष्ट्रपति रनिङ शिल्ड अन्तर विद्यालय खेलकुद प्रतियोगिता २०७६ आयोजना गर्ने भएको छ।

गाउँपालिकाअन्तर्गतका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयबीचको स्पर्धामा विभिन्न एथ्लेटिक्स,भलिबल लगायतका खेल समावेश गरिएको छ ।प्रतियोगितामा १ सय , २ सय, ४ सय, ८ सय र १ हजार ५ सय मिटर छात्रछात्रा दौड, ४ सय मिटर छात्रछात्रा रिले दौड, छात्रछात्रा हाइजम्प, लङ्‍गजम्प, त्रिपल जम्प, ज्यावलिङ थ्रो, सटपुट, छात्रछात्रा भलिबल तथा कवड्डी समावेश गरिएको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले जानकारी दिए।

विद्यालयतहबाट खेलकुद प्रतिभाको खोजी गर्दै सम्वर्द्धन र प्रवर्द्धन गर्ने लक्ष्यसहित गत वर्षदेखि देशको सङ्‍घीय संरचनाअनुसार स्थानीय, प्रदेश र सङ्‍घस्तरीय राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप