काठमाडौं ।काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ दाप्चा तल्लो हटियास्थित आफ्नै घरमा किराना पसल संचालन गरी बस्ने ५५ वर्षीय श्याम कृष्ण श्रेष्ठ र उनकी श्रीमती ५० वर्षीया रुकु माया श्रेष्ठलाई धारिलो हतियार खुर्पा र बियरको बोतल प्रहार गरी हत्या गर्नेलाई करिब दुई महिनापछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ललितपुर, ललितपुर महानगरपालिका-२५ भैसेपाटी बस्ने सिन्धुली दुधौली नगरपालिका-७ घर भएका २० वर्षीय किरण कुमार मगर र काठमाडौं महानगरपालिका-७ चावहिल बस्ने उदयपुर चौदण्डिगढी नगरपालिका-१० घर भएका २४ वर्षीय सुमन राई रहेका छन् ।
२०७६ कात्तिक १९ गते राति ती दम्पत्तीको हत्या भएको घटनाको सम्बन्धमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा घटनामा संलग्न रहेका मगरलाई ललितपुर महानगरपालिका-२५ भैसेपाटी र राईलाई काठमाडौं महानगरपालिका-७ चावाहिलबाट पक्राउ गरेको हो ।




