सुटुक्क फर्काइए यौन दुराचारी अमेरिकी

काठमाडौं । इन्टरपोलको सूचनामा पक्राउ परेका एक यौन दुराचारी अमेरिकीलाई सुटुक्क फर्काइएको छ । पर्यटक भिसामा नेपाल प्रवेश गर्न खोज्ने अमेरिकी प्रियांग द्वारकादास गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका थिए । उनलाई अध्यागमन विभागले मंगलबार उतै फर्काएको हो ।

उनी नेपाल आउँदै गरेको सूचना नेपालस्थित इन्टरपोलले अध्यागमन विभागलाई दिएको थियो । विभागका अनुसन्धान अधिकृत वैकुण्ठराज रेग्मीले यौन दुराचार आरोपमा सजाय भोगिसकेका द्वारकादासलाई फिर्ता पठाइएको पुष्टि गरे । द्वारकादासलाई अमेरिकी अदालतले यौन दुराचारमा दोषी ठहर गरेको थियो ।

सोही अभियोगमा उनले केही समय जेल सजाय भोगेका थिए । इन्टरपोलले उनी नेपाल प्रवेश गरेको र फर्किएको विवरण मात्र मागेको थियो । तर, अध्यागमनका अधिकारीले उनलाई पक्राउ गरेको थियो । यौन दुराचारको अभियोग लागेका अमेरिकी नागरिक नेपाल पस्न पाउँदैनन् ।

विभागले २०७४ भदौ ५ मा महानिर्देशकस्तरीय निर्णय गर्दै अमेरिकी राहदानीको पछिल्लो पृष्ठमा ‘यौन दुराचारमा दोषी ठहर्‍याइएको’ लेखिए त्यस्ता अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउन भनेको थियो ।

विभागले त्यस्तो लेखिएको राहदानीवाहक अमेरिकीलाई अध्यागमन नाकाहरूबाट तत्काल फिर्ता गर्न पनि भनेको थियो । अमेरिकास्थित डिपार्टमेन्ट अफ स्टेटअन्तर्गतको कन्सुलर ब्युरोको अनुरोधमा २०७४ भदौमा विभागले यौन दुराचारी अमेरिकीलाई नेपाल प्रवेशमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । लगत्तै विभागले सबै अध्यागमन कार्यालय र नाकामा सोबारे परिपत्र गरेको थियो । पक्राउ परेका अमेरिकी नागरिक द्वारकादासको राहदानीको पछिल्लो भागमा सोही विषय लेखिएको थियो ।

पक्राउ परेलगत्तै फिर्ता (इन्ट्री रिफ्युज्ड) पठाउनुपर्नेमा अध्यागमन अधिकारीले थप अनुसन्धानका लागि उनलाई विभागमा पठाएका थिए । अमेरिकी नागरिक द्वारकादास ५९६६३७०९४ नम्बरको राहदानीमा नेपाल आएका थिए । नेपाल प्रवेश गर्नुअघि नै वासिङटन डीसीस्थित इन्टरपोलको कार्यालयले उनी काठमाडाैं आउँदै गरेको सूचना काठमाडौं इन्टरपोल कार्यालयलाई दिएको थियो । सोहीबमोजिम ती व्यक्तिको निगरानी गर्न काठमाडौं इन्टरपोल कार्यालयले अध्यागमनमा पत्राचार गरेको थियो ।

द्वारकादास नेपाल आउने सूचना पाएसँगै त्यस्तै प्रकृतिका सम्भावित घटना नदोहोरियोस् भनेर नेपाल प्रहरीको मावन बेचबिखन अनुसन्धान ब्युरोले उनको निगरानी गर्ने तयारी गरेको थियो । उनले न्युयोर्कस्थित नेपाली दूतावासबाट १५ दिनको पर्यटक भिसा लिएकाे खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेकाे छ । उनको पुस ७ देखि पुस १६ सम्म नेपाल बस्ने योजना थियो । उनी भारतीय मूलका अमेरिकी नागरिक रहेको जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कीर्तिपुरमा यात्रु वाहक बस दुर्घटना : एकको घटनास्थलमै मृत्यु, तीन जना घाइते

काठमाडौं । कीर्तिपुर–रत्नपार्क रुटमा चल्ने एक यात्रु वाहक बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको …

प्रतिकृया दिनुहॊस