अपराधमा विदेशीको संलग्नता बढ्दो

काठमाडौं । पर्यटक भिसामा नेपाल प्रवेश गर्ने धेरैजसो विदेशीको शङ्कास्पद तथा आपराधिक गतिविधि दिन प्रतिदिन बढ्दै गएका छन् । पाँच महिना लामो पर्यटक भिसा लिएर आउने विदेशीहरूको अनलाइन ठगीदेखि बैङ्क तथा एटीएम ह्याकिङ, चोरी, मानव बेचविखन, यौन दुराचार, हत्या, अपहरण, लागूऔषध र दुर्लभ वन्यजन्तुको ओखटेपहार ओसारपसारमा संलग्नता बढ्दै गएको हो ।

नेपाल प्रहरीका अनुसार त्यस्ता अपराधमा भारत, चीन, बङ्गलादेश, बेलायत, अमेरिका, युरोप तथा अफ्रिका लगायत देशका नागरिकको संलग्नता बढी देखिएको छ ।

यो हप्ता शङ्कास्पद गतिविधि सञ्चालन गरेको अभियोगमा १२२ जना चिनियाँ नागरिक पक्राउ परेसँगै विदेशीले नेपाललाई ‘ट्रान्जिट हब’का रूपमा प्रयोग गर्ने गरेको थप तथ्य बाहिर आएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापाक्षेत्री विदेशी नागरिकको क्रियाकलापमाथि निगरानी आवश्यक रहेको बताए ।

कतिपयले ट्रेकिङ (पदयात्रा) का नाममा निषेधित क्षेत्रको तस्बिर तथा भिडियो खिच्ने, जासुसी गर्ने, धर्म परिवर्तन गराउँदै हिँड्ने र अश्लील क्रियाकलापलाई निरुत्साहित पार्न सम्बद्ध निकायले निगरानी बढाउनुपर्ने उनको सुझाव छ । कारागार व्यवस्थापन विभागका अनुसार हाल सञ्चालनमा रहेका ७४ वटा कारागारमध्ये ३१ वटा कारागारमा एक हजार २६९ जना विदेशी नागरिक कैदीबन्दी छन् ।

अधिकांश कैदीबन्दी जघन्य अपराधअन्तर्गत ज्यान मार्ने उद्योग, अपहरण तथा हत्या, बलात्कार, लागूऔषध, मानव बेचविखन, दुर्लभ वन्यजन्तुको चोरी शिकारी, बालयौन दुराचार, सङ्गठित अपराधमा संलग्न छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप