चितवन । चितवन नारायणगढ मुग्लिन सडकखण्ड अब २२ गतेसम्म दिउँसोको समयमा बन्द गरिने भएको छ । सडक खण्डको आठ ठाउँमा पहिरो रोकथाम गुर्नुपर्ने र सडक सुरक्षालाई ख्याल गर्दै शुक्रबार बसेको सुरक्षा समितिको बैठकले पुस २२ गतेसम्म दिउँसोको समयमा बन्द गरेर काम गर्ने निर्णय गरेको हो ।
गएकाे मंसिर २७ गतेदेखि पुस ११ गतेसम्मका लागि बन्द गरेर काम भएकाे भए पनि काम नसकिएपछि फेरि समय थप गर्ने निर्णय भएकाे हाे । बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी आवागमन बन्द गरेर आवश्यक ८ स्थानमा पहिराे राेकथामकाे लागि काम गरिने आयोजनाका इञ्जिनियर एवं सूचना अधिकारी शिव खनालले जानकारी दिए ।
सडक खण्डको गाईघाट, १८ किलो, घुमाउने, भालुढुंगा, जलबिरे, चारकिलो, टोपेखोला र कालिखोला क्षेत्रमा पहिरो रोकथामको काम हुँदैछ । १३ करोड रुपैयाँको लागतमा बज्रगुरु हिमशिखर न्यु टेक्निकल जेभीले काम गरिरहेकाे खनालले बताए ।
सडक बन्द गरेर आठ स्थानमा रकनेटिङ, बोल्टिङ र बायो इन्जिनियरिङ प्रविधिबाट पहिरो रोकथामको काम भइरहेको खनालले जानकारी दिए । विश्व बैंकको ऋण सहयोगमा एसियन हाइवे स्टान्डर्डको डबल लेनमा स्तरोन्नति भइसकेको भए पनि सडक क्षेत्रमा पहिरो राेकथामका लागि आवश्यक संरचना निर्माणकाे काम बाँकी रहेको थियो ।




