काठमाडौं । संसद् सचिवालयले प्रतिनिधिसभाको नयाँ सभामुख निर्वाचन पुस १४ गते गर्ने तयारी गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको अनुकूलताका आधारमा सचिवालयले १४ गते नयाँ सभामुख निर्वाचनको गृहकार्य गरेको हो। शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले सभामुख निर्वाचनका लागि निर्वाचन अधिकृत तोक्ने र निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ।
स्रोतका अनुसार १३ गते बिहान १० देखि ५ बजेसम्म नयाँ सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गर्ने समय र्निधारण गर्ने तयारी छ भने १४ गते १ बजे बस्ने संसद् बैठकमा नयाँ सभामुख निर्वाचन गर्ने तयारी छ। निर्वाचनको मिति तीन दिनको समयावधि राखेर तोकिने परम्पराबमोजिम ११ गते बस्ने संसद् बैठकले पुस १४ गतेलाई निर्वाचन मिति तोक्ने तयारी गरिएको हो।
राजनीतिक दलको अनुकूलताको अध्ययन गरी संसद् सचिवालयले निर्वाचनकोमा प्रारम्भिक कार्यक्रम तयार गरेको छ। सभामुखमा नेकपाले नछाड्ने भएपछि नेकपाबाटै सभामुख निर्वाचित हुने निश्चित छ। संसद्मा बहुमत प्राप्त भएका कारण उसले सभामुखको दाबी गरेमा अन्य पार्टीबाट उम्मेदवार निर्वाचित हुने सम्भावना रहँदैन। संसद बैठकमा सम्पूर्ण सदस्यको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था छ।
महिलामाथि यौन दुव्र्यवहारको अभियोग लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १३ गते पदबाट राजीनामापछि उक्त पद रिक्त छ। गत पुस ४ गतेबाट हिउँदे अधिवेशन सुरु भए पनि दलीय सहमति जुट्न नसकेपछि पहिलो बैठकले सभामुखको निर्वाचनको मिति घोषणा गर्न नसकेपछि ११ गतेसम्मका लागि बैठक स्थगित गरिएको छ।




