काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सी वे लगायत जीर्णोद्धारको सम्पूर्ण काम सम्पन्न भएको छ । निर्धारित समयभन्दा झण्डै पाँच महिनाअघि नै आयोजनाको काम सकेर विमानस्थलले नेपालमा ठूला योजना पनि समयभित्रै सफलरूपमा सम्पन्न हुन्छ भन्ने दरिलो उदाहरण प्रस्तुत गरेको छ । योसँगै अब अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घण्टा सञ्चालन योग्य भएको छ ।
विमानस्थल जीर्णाेद्धारको जिम्मा पाएको चिनियाँ निर्माण कम्पनी एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जिनियरिङ कर्पोरेशनले मंगलबार आयोजना औपचारिकरूपमा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई हस्तान्तरण गरेको छ । कर्पोरेशनका उपाध्यक्ष युन कोजिहाले प्राधिकरणका महानिर्देशकलाई आयोजना हस्तान्तरण गरेका हुन् ।
प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनामार्फत् विमानस्थल जीर्णोद्धार गरिएको हो । धावनमार्ग स्तरोन्नतिका लागि प्राधिकरणले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इन्जििीयरिङ कर्पोरेशनसँग मूल्य अभिवृद्धि करसहित ४ अर्ब २७ करोड रुपैयाँमा सम्झौता गरेको थियो । अहिले एयरफिल्ड लाइटको कामबाहेक सबै काम सकिएको छ । लाइटको काम पनि बढीमा पाँच दिनभित्र सकिने आयोजनाले जनाएको छ ।
विमानस्थलको जीर्णोद्धारको दोस्रो चरणको काम गएको भदौ १५ देखि दैनिक सात घण्टा विमानस्थल बन्द गरी सुरु गरिएको थियो । विमानस्थलको पहिलो चरणअन्तर्गत २०७५ चैत १८ देखि २०७६ असार १५ गतेसम्म विमानस्थलको धावनमार्ग मर्मतको काम गरिएको थियो । विमानस्थलको धावनमार्ग तीन हजार ५० मिटर लम्बाइ र ४६ मिटर चौडाइको छ । त्यस अवधिमा रातको १० देखि बिहान ८ बजेसम्म दैनिक १० घण्टा विमानस्थल बन्द गरी मर्मतको काम गरिएको थियो ।
विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे मर्मतको काम सफलतापूर्वक सम्पन्न भइ अब दैनिक २१ घण्टा सञ्चालन योग्य भएको बताए । सन् २०२० को जनवरी १ देखि विमानस्थल दैनिक २१ घण्टा सञ्चालनमा आउने उनको भनाइ छ । महाप्रबन्धक केसीले विमानस्थल अहिले नै २१ घण्टा सञ्चालनमा आउने भए पनि सम्बन्धित एयरलाइन्सले तयारी गर्नुपर्ने भएकाले उडान मिति जनवरी १ लाई निर्धारण गरिएको उल्लेख गरे ।
प्रतिकृया दिनुहॊस