काठमाडौं । आज माघ १७ गते बुधवार खग्रास चन्द्रग्रहण साँझ ५:३२ बजे शुरु भएर ७:१६ बजे मध्य र राती ८ बजेर ५७ मिनेटमा मोक्ष हुनेछ । सामान्य अर्थमा पृथ्वीको छायाले चन्द्रमालाई छेकेको अवस्थामा चन्द्रग्रहण लाग्ने गर्दछ । यस्तो अवस्था पूर्णिमा तिथिमा मात्र सम्भव हुने भएकाले चन्द्रग्रहण पूर्णिमा मात्र लाग्ने गर्दछ । चन्द्रममा आफ्नो प्रकाश छैन । सूर्यको प्रकाशले नै चन्द्रमा उज्यालो भएको हो । प्रकाश परावर्तन गर्ने शक्ति चन्द्रमामा भएकाले सूर्यको प्रकाश पर्दा त्यसको परावर्तित किरण पुनः पृथ्वीसम्म आउने गर्दछ । औंशीमा चन्द्रमा र सूर्य एउटै राशि अर्थात् चन्द्रमामाथि सूर्य हुने भएकाले चन्द्रमाको उज्याले देख्न सकिदैन । अर्थात् रात अध्यारो हुन्छ । पूर्णिमामा चन्द्रमा र सूर्यको अन्तर ६ राशि अर्थात् १८० डिग्रीको हुने गर्दछ ।
यही पूर्णिमामा पृथ्वीको छायामा चन्द्रमा प्रवेश गरेको अवस्थामा चन्द्र ग्रहण लाग्ने गर्दछ । चन्द्रग्रण दुई प्रकारका हुन्छन् । १) पूर्ण चन्द्रग्रहण २) खण्डग्रास चन्द्रग्रहण । चन्द्रमाको पूरै भाग पृथ्वीको छायामा पर्दा पूर्णग्रास चन्द्रग्रहण हुन्छ । यसैगरी चन्द्रमाको केही भाग मात्र पृथ्वीको छाँयामा पर्छ भने खण्डग्रस चन्द्र ग्रहण लाग्ने गर्दछ ।आज बेलुका लाग्ने खग्रास चन्द्रग्रहण हो ।यो दुर्लभ खग्रास चन्द्रग्रहण १५२ वर्षपछि लागेको हो ।
खग्रास चन्द्रग्रहणमा चन्द्रमाको पूरा भाग ग्रसित अथवा कालो हुने गर्दछ । पृथ्वीको छाँयाभित्र चन्द्रमाको सम्पूर्ण भाग प्रवेश गर्ने अवस्थालाई खग्रास चन्द्रग्रहण भनिन्छ । यस्तो अवस्थामा सूर्य पृथ्वी र चन्द्रमा एउटै सरल रेखमा पर्ने गर्दछन् । पृथ्वीको छाँयामा चन्द्रमा प्रवेश गरी चन्द्रमाको शुक्लत्व छेकिएको अवस्थामा चन्द्रग्रहण हुने गर्दछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले न्यूज दैनिकलाई बताउनुभयो ।
“शास्त्रीय रुपमा बालक, वृद्ध र रोगी बाहेकलाई बुधबार बिहान ८ बजेर ५५ मिनेटदेखि नै खान निषेध गरिएको छ, ग्रहण लागेपछि सुत्न, हास्यविनोद, मैथुनलगायत काम गर्नुहुँदैन, ग्रहण निमित्तिक देवपूजा, तर्पण आदि भने गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।
धर्मशास्त्रीय मान्यतानुसार बुधबारको चन्द्रग्रहण वृष, तुला र कुम्भ राशि भएकाहरुले मात्र हेर्नुहुन्छ ।तर यी राशि भएकाहरुले खुला आँखाले भने ग्रहण हेर्नुहुँदैन ।
यस वर्षका पञ्चाङ्गमा मेष राशिलाई व्यथा, वृष श्रीप्राप्ति, मिथुन क्षति, कर्कट घात, सिंह खर्च, कन्या लाभ, तुला सुख, वृश्चिक माननाश, धनु कष्ट, मकर स्त्रीपीडा, कुम्भ सुखप्राप्त र मीन राशिकालाई चिन्ताको योग रहेको समितिले जनाएको छ ।
प्रतिकृया दिनुहॊस