पिकअप भ्यान महोत्तरीमा पल्टियो, २ को मृत्यु, १४ घाइते

काठमाडाैँ । बारास्थित गढीमाई मेलाबाट यात्रु लिएर फर्किंदै गरेको पिकअप भ्यान महोत्तरीमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको १४ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा धनुषाधाम घर भएका सकुन्तलादेवी महतो र भारत जयनगर घर भएका तनियादेवी महतोको मृत्यु भएको हो।

बाराको गढीमाई मेलाबाट फर्किदै गरेको २ च ८८५५ नम्बरको यात्रुबाहक पिकअप भ्यान बुधबार बिहान अनियन्त्रित भई पूर्व-पश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिको लक्ष्मिनीयाँमा सडकबाट तल खसेकाे हाे। बिहान २ बजे फर्किदै गरेको उक्त पिकअप विपरीत दिशाबाट आउँदै गरेको एक ट्रकले हेडलाइट डिम नगर्दा दुर्घटना भएको बर्दिबास इलाका प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते ४ जनालाई थप उपचारको लागी विपी कोइराला विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको छ। यस्तै सामान्य घाइते १० जनाको बर्दिवासस्थित शुभस्वस्तिक अस्पताल उपचार भैरहेको प्रहरीले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री