जोमसोम–कोरला सडक तीन दिन बन्द हुने

ठिनी । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ ।जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो ।

प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले सवारी आवतजावत रोकेर विस्फोटक पदार्थको प्रयोग गरेर सडक विस्तार गर्ने निर्णय गरेको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ । निर्माणमा बाधा पुग्ने र दुर्घटनाको जोखिम भएकाले सवारी बन्द गरेर सडक विस्तार गर्न लागिएको आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए।

उनका अनुसार गत असारदेखि समरको भिरमा ब्लास्टिङ गरी पहाड फुटाएर सडक विस्तारको काम भइरहेको छ । चैले–भेना खण्डमा पर्ने समरको भिरलाई जोखिमयुक्त मानिएको छ ।

सो खण्डको १२ किलोमिटर सडक स्तरोन्नतिको काम कान्छाराम कोशी एण्ड न्यौपाने जेभीले पाएको छ । उपल्लो मुस्ताङ भ्रमणमा जाने आउने पर्यटक तथा स्थानीयवासीलाई समस्या नहोस् भनेर पूर्वसूचना जारी गरिएको हो । जोमसोम–कोरला ११० किलोमिटर सडकलाई सात खण्डमा विभाजन गरी काम शुरु भएको थियो । सडकको दुई पटक म्याद थप भइसकेको छ भने पछिल्लो समय थपिएको म्याद असारमा सकिँदै छ ।

एघार मिटर फराकिलो ग्राभेल सडकको चार खण्डको काम अन्तिम चरणमा छन् । छोसेरदेखि कोरला १६ किलोमिटर सडक गत वर्ष करिडोरलाई हस्तान्तरण भइसकेको थियो । राङदेखि छोसेर खण्डको काम सुस्त भएकाले अपेक्षाअनुसार सडकको प्रगति नभएको करिडोरले जनाएको छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले निर्माण व्यवसायीको ढिलासुस्तीले न्यून मात्र काम भएको बताए । उपल्लो मुस्ताङमा हिउँदयाममा हिमपात हुने, चिसो शीतलहर छाउने भएकाले पुसदेखि फागुनसम्म काम गर्न सकिँदैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छानबिन समितिको कार्यादेश बनाउने कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । संसदीय समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक निष्कर्ष विहीन भएको छ । …

प्रतिकृया दिनुहॊस