पर्सा – बनेपाबाट अपहरणमा परेका एक बालकलाई प्रहरीले वीरगञ्जबाट उद्धार गरेको छ । प्रहरीले अपहरणकारीमाथि गोली हानेर अपहरित बालकलाई सकुशल उद्धार गर्न सफल भएको हो ।
पर्सा जिल्लाको वीरगञ्ज उपमहानगरपालिकास्थित नेपाल–भारत सीमा क्षेत्रमा पर्ने खलबा टोलमा राति १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेको हो । बनेपादेखि अपहरण गरेर ल्याएको बालकलाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएसपी गौतम थापाले जानकारी दिए । ती १४ वर्षीय बालक १० दिनअघि अपहरणमा परेको बताइएको छ ।
प्रहरीको गोलीबाट अपहरणकारी घाइते भएका छन् । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अपहरणकारीको दाहिने खुट्टामा गोली लागेको छ । प्रहरीले अपहरित बालक र अपहरणकारीको नाम भने खुलाएको छैन । यस विषयमा पत्रकार सम्मेलन गरेर थप जानकारी दिइने थापाले बताएका छन् ।




