काठमाण्डाै । इंग्ल्याण्डको मेरिलिबोन क्रिकेट क्लब (एमसीसी) नेपालविरुद्ध सिरिज खेल्न आज काठमाण्डाै आइपुग्दैछ । आज बिहान १०ः१५ बजे एमसीसीको टिम काठमाण्डौ अवतरण गर्नेछ । एमसीसीले काठमाडौ र पोखरामा गरि ६ वटा म्याच खेल्ने छ ।
नेपाली राष्ट्रिय टिम विरुद्ध टी–२०, एकदिवसिय र तीन दिवसिय सिरिजका लागि आउन लागेको एमसीसीमा अधिकांश खेलाडी इंग्ल्याण्डको यू १९ टिमबाट खेलिसकेका छन् । टिमको कप्तानी गर्ने जिम्मी एड्म्स टिमका अनुभवी खेलाडी हुन्
टिममा रहेका विल रोड्सले २०१४ मा इंग्ल्याण्डको यू १९ टिमबाट खेलेका थिए । पाकिस्तान टिमबाट टेष्ट खेलिसकेका यासिर अराफात पनि टिममा छन् । उनी सन् २००० देखि २०१२ सम्म पाकिस्तानको टेष्ट टिममा थिए ।
यस्तै टम वेस्लेले इंग्ल्याण्डका लागि ५ वटा टेष्ट खेलिसकेका छन् । जिम्मी एड्म्स यसअघि पनि नेपाल विरुद्ध खेलिसकेका छन् । नेपालले इंग्ल्याण्डमा अभ्यास खेल खेल्दा उनले ७१ रन बनाएका थिए । त्यस खेलमा नेपाल १९ रनले पराजित भएको थियो ।
एमसीसी टिमले १४ तारिखसम्म नेपालमा मैत्रीपूर्ण खेल खेल्नेछ । यसका साथै एमसीसीले नेपालमा पिच, प्रशिक्षक प्रशिक्षण, किट प्रोभिजनमा सहयोग गर्नेछ । यसका साथै पोखरामा नयाँ स्कुल प्रतियोगिता आयोजना गर्नेछ ।
यो टुरमा एमसीसीले एउटा तीन दिवसिय, दुईवटा ५० ओभरको खेल र तीन टी २० खेल खेल्नेछ । यसका साथै एमसीसी फाउन्डेसनले पाँच वटा सरकारी स्कुलमा क्रिकेटसम्बन्धी सहयोग गर्नेछ ।




