जाजरकोटमा भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३

जाजरकोट । जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा १, २ र ३ मा दुई सातादेखि विभिन्न गाउँमा फैलिएको भाइरल ज्वरोबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

भाइरल प्रभावित क्षेत्रमा उपचारमा खटिएका डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका ३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्यान गएको छ।

त्यस्तै गरी, जुनीचाँदे ५ टिप्ककी ६५ वर्षीया कालु तिरुवाको पनि ज्यान गएको छ।उनीहरुलाई रुघाखोकी र ज्वरो आएको थियो । समयमा उपचार नपाएपछि उनीहरुको ज्यान गएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र ५० वर्ष माथिका ६ जना छन्। जुनीचाँदे २ मजकोटबाट सुरु भएको भाइरल प्रकोप वडा नं १, ३, ४ को कोर्ताङ, वडा नं ५ गर्खाकोट र वडा नं १० सम्म फैलिएको छ।

शनिबारदेखि भाइरल पीडितको शिविर खडा गरी उपचार गरिएको छ। शिविरमा १२ सय जनाको उपचार गरिएको छ। उपचार थालिए पनि बिरामी अझै नघटेको उपचारमा संलग्न डा. शाक्यले जानकारी दिए।

दिनदिनै बिरामी बढ्दै छन्, धेरैजसो बालबालिका बिरामी छन्। कुपोषित बालबालिकाका, वृद्धवृद्धा र कमजोर आर्थिक अवस्थाकाहरू बढी प्रभावित छन्’, उनले भने। औषधि नियमित नखाने, बच्चाले औषधि खान मान्दैन भनेर नखुवाउने, धामीझाँक्रीकै भर पर्ने, न्यानो कपडा नलगाउनेजस्ता कारणले प्रभावित बढी रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। शिविरमा आएकै बिरामीले नियमित औषधि सेवन नगर्दा चार जनाको मृत्यु भएको चिकित्सकले बताएका छन्।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री