काठमाण्डाै । चीन सरकारले मानवीय तथा विपद् व्यवस्थापनका लागि नेपाली सेनालाई १५ करोड आरएमबी बराबरको सैन्य सामग्री उपलब्ध गराउने सम्झौतामा आइतबार दुई पक्षीय सम्झौता भएको छ ।
यो सम्झौतामा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका रक्षामन्त्री वेइ फेङ्हेबी बीच आइतबार बेइजिङ्मा हस्ताक्षर भएको हो ।
चीनका राष्ट्रपति सी जिनपिङको गएको असोज २५ र २६ मा भएको नेपालको राजकीय भ्रमणका क्रममा चीनले नेपाललाई यो सहायता उपलब्ध गराउने प्रस्ताव गरिएको थियो । उक्त सहयोग तीन वर्षभित्रमा प्राप्त हुनेछ ।
गएको वर्षको चीन भ्रमणका क्रममा पनि दुई देशका रक्षामन्त्रीबीच नेपाली सेनालाई पन्ध्र करोड युयान बराबरको मानवीय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित सहायता सामग्री उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर भएकोमा सो कार्यान्वयनको चरणमा छ ।
हस्ताक्षर हुनुपूर्व उपप्रधानमन्त्री र चीनका रक्षामन्त्रीबीच द्विपक्षीय सम्बन्ध र पारस्परिक हितका विषयमा वार्ता भएको थियो । उपप्रधानमन्त्री पोखरेलले नेपाल र चीनबीचको सम्बन्ध पञ्चशील, शान्तिपूर्ण सहअस्तित्व, पारस्परिक सम्मान र एक–अर्काको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने सिद्धान्तबाट निर्देशित भएको बताउँदै नेपाल र चीनबीचको असल र मैत्रीपूर्ण सम्बन्धलाई भर्खरै सम्पन्न चीनका राष्ट्रपतिको राजकीय भ्रमणबाट थप उचाइमा पुर्याउन र दुई देशबीच सम्पर्क र सहयोग विस्तार गर्न योगदान गरेको बताए । उनले चीनले नेपालको आर्थिक सामाजिक विकासमा निरन्तर पुर्याउँदै आएको सहयोगका लागि चीनसरकारप्रति धन्यवाद व्यक्त गरे।



