कांग्रेस सभापति देउवाको दशैं सन्देश- मतभेदलाई बिर्सेर देशको सर्वाङ्गीण हितमा संलग्न होऔँ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैंको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गरेका छन् । दशैंको अवसरमा मंगलबार एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताएका छन् ।

नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र पारस्परिक एकताको रूपमा मनाउँदै आएको यो पर्व बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र नेपालको मौलिकता भएको सभापति देउवाले सन्देशमा उल्लेख गरेका छन् । ‘मौलिक भेषभूषा सहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहित बन्धुत्व भावले विविधताका बीचमा पनि अनुपम एकता कायम गरेको छ । विविधताबीचको एकता नेपालीको विशेषताको रूपमा परिचायक पनि हो । विजया दशमीले हामीबीचको एकतालाई अझ मजबूत बनाएको छ’, सन्देशमा उनले लेखेका छन् ।

सभापति देउवाले नेपाली कांग्रेसको नेतृत्वमा तीनै तहको निर्वाचन सम्पन्न भई मुलुकले संघीय समावेशी लोकतान्त्रिक गणतन्त्रतात्मक नेपालको बलियो जग खडा गरिसकेको बताउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानलाई क्रियाशील र संस्थागत गर्न सक्यौं भने मात्र मुलुकलाई एक समृद्ध राष्ट्रमा रुपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

संसारभरि शान्तिको सन्देश फैलाउने देशको रूपमा नेपालले आफ्नो परिचय बनाएको,  एकता, मेलमिलाप र सद्भावका रूपमा मनाइने विजयादशमी पर्वले हामीबीचमा केही मतभेदहरू छन् भने तिनीहरूलाई बिर्सेर, देशको सर्वाङ्गीण हितमा संलग्न हुने पर्वको रुपमा ग्रहण गर्न सके यसको महत्व अझ बढ्ने उनले बताएका छन् । सभापति देउवाले विजया दशमीले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर बनाउन सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि निःशुल्क गरिने

काठमाडौँ । पशुपति आर्यघाटस्थित विद्युत् शवदाह आउँदो साउन १ गतेदेखि निःशुल्क गरिने भएको छ । …

प्रतिकृया दिनुहॊस