एमाले र माओवादी केन्द्र आन्तरिक छलफलमा

काठमाडौं । पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र आन्तरिक छलफलमा जुटेका छन्। एमालेले सोमबार दिउसो स्थायी कमिटी बैठक डाकेको छ भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि पार्टीका उच्च नेताहरूसँग आन्तरिक छलफलमा छन्।

दिउसो दुई बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्ने बैठकले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको लागि संगठनात्मक ढाँचा तथा वैचारिक राजनीतिक विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

‘बैठकले संगठनको ढाँचा र सिद्धान्तका विषयमा छलफल गरी त्यसको टुंगो लगाउन एकता संयोजन समितिलाई म्याण्डेट दिने छ’, उनले भने।

पार्टी एकतामा ढिलाइ र शंका व्यक्त भइरहेका बेला आइतबार साँझ एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। भेटमा उनीहरूबीच एकतापछिको कार्यदिशा र संगठन संरचना निर्माणका लागि कार्यदलमार्फत् अघि बढ्ने सहमति भएको छ।

दुई पार्टीका अध्यक्षबीच आइतबार साँझ बालकोटमा भएको छलफलमा कार्यदलको गृहकार्यका आधारमा पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गरी एजेन्डा तय भएको बैठकपछि प्रचण्डले बताए। भेटमा सोमबार दुवै पार्टीका शीर्ष नेताहरूको आन्तरिक छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समिति बैठक बसेर कार्यदल बनाई प्रक्रिया अगाडि बढाउने निर्णय भएको हो।

‘पार्टी एकता प्रक्रिया जुन प्रक्रियामा अगाडि बढेको छ, त्यसलाई जसरी हामीले अगाडि बढाउने भन्दै आएका थियौं, त्यहीअनुसार अगाडि बढाउने निष्कर्ष निकालेका छौं’, बैठकपछि माओवादी केन्द्रका अध्यक्ष दाहालले भने, ‘भोलि (सोमबार) दुवैले आ–आफ्नो पार्टीको लेवलमा छलफल गर्छौं र पर्सि (मंगलबार) एकता संयोजन समिति बैठक बसेर प्रक्रियालाई थप अगाडि बढाउँछौं ।’

नौ दिनपछि दुई नेताबीच आइतबार आइतबार साँझ झन्डै पौने दुई घण्टा छलफल भएको थियो। एकता संयोजन समिति बैठकको एजेन्डा निर्धारणका लागि ओली–दाहालबीच छलफल भएको हो। एकता संयोजन समितिको दुवै अध्यक्षले संयोजन गर्दै आइरहेका छन्।

नयाँ सरकार गठनअगाडि नै सम्भव भएसम्म पार्टी एकता गर्ने रणनीति बनाएका एमाले–माओवादी अध्यक्षले पहिले छलफल गरी एजेन्डा तय गर्ने र त्यसपछि लगत्तै संयोजन समितिको बैठक बस्ने बताउँदै आएका थिए।

मंगलबार बस्ने एकता संयोजन समितिले अब वैचारिक/राजनीतिक कार्यदिशा तय गर्न वैचारिक राजनीतिक कार्यदल तथा संगठनात्मक संरचना मोडालिटी तयार पार्न संगठनात्मक कार्यदल गठन गर्ने भएको छ।

एमाले–माओवादीबीच लोकतान्त्रिक विधिबाट समाजवाद ल्याउने रणनीतिका विषयमा साझा सहमति छ । तर, त्यसको कार्यनीति के हुने भन्नेमा भने सहमति जुटाउन बाँकी छ । एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जवज) र माओवादीले अंगीकार गदै आएको माओवादका विषयमा के गर्ने भन्नेमा टुंगो लगाउनु पर्नेछ।

त्यस्तै, पार्टीको मूल नेतृत्वका विषयमा दुवै पार्टीको अध्यक्षको तहमा छलफल गरी टुंगो लगाउने सहमति भए पनि पार्टी एकतापछिको संक्रमणकालीन अवस्थामा संगठनात्मक संरचनाको मोडालिटी कस्तो बनाउने भन्ने विषय भने टुंग्याउन बाँकी छ। यो विषय टुंग्याउन मंगलबार एकता संयोजन समितिले कार्यदल बनाउनेछ।

कार्यदललाई केही निश्चित समय निर्धारण गरी काम गर्न दिने र त्यसले दिने सुझावका आधारमा निर्णय लिई पार्टी एकताको काम टुंगो लगाउने विषयमा ओलीसँग समझदारी बनेको दाहालले बताए।

संयोजन समितिमा ओली–दाहालका अतिरिक्त एमालेका तर्फबाट वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन्।

एकता संयोजन समितिको बैठक १५ कात्तिकयता बस्न सकेको थिएन। एमाले अध्यक्ष ओली बुधबार स्वास्थ्योपचारका लागि एक साताका लागि बैंकक जाने भएपछि त्यसअगाडि नै कार्यदल बनाई एकताको गृहकार्य गर्न दुवै अध्यक्ष सहमत भएका हुन्। एमाले सचिव प्रदीप ज्ञवालीका अनुसार शीर्षनेताहरुबीचको बैठक ‘आजसम्मकै उत्साहपूर्ण’ हो। ‘एकताका लागि आजको बैठकबाट थप बल मिलेको छ,’ ज्ञवालीले भने, ‘कार्यदलबाट अघि बढ्छौं, एकता भएरै छाड्छ । हामीबीच कुनै भ्रम बाँकी छैनन्।’

पार्टी एकताका विषयमा छलफल गर्न सोमबार नै एमालेले बालकोटमा स्थायी समिति बोलाएको छ। माओवादीले पनि कार्यालयको बैठक बोलाउने तयारी गरेको छ।

अन्‍नपूर्ण पोस्ट्

बारेमा news

यॊ पनि हेर्नुहॊस

दलहरुको अडान यथावत, बस्दैनबसी स्थगित भयो संसद् बैठक

काठमाडौँ । प्रतिनिधि सभाको बैठक फेरि स्थगित भएको छ । यसपटक ६ जेठसम्मका लागि प्रतिनिधि …

प्रतिकृया दिनुहॊस

This will auto close after