काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिकमले सातवटै प्रदेशका मुख्य शहरमा चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा सुरु गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सातै प्रदेशका मुख्यमन्त्रीसँग स्विच दबाएर फोरजी प्रविधिमार्फत ‘भिडियो कन्फरेन्स’ गरी सेवा शुभारम्भ भएको घोषणा गरेका हुन्। यो सात प्रदेशका ३२ जिल्लामा रहेका ५० बढी शहरमा फोरजी विस्तार भएको छ।
टेलिकमले यसअघि २०७३ साल पुस १७ गतेदेखि काठमाडौं र पोखरामा फोरजी सेवा उपलब्ध गराएको थियो। टेलिकमले बढी व्यावसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गरेको हो। त्यसका लागि करीब १५० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ।
प्रदेश नं १: चन्द्रगढी, विर्तामोड, दमक, विराटनगर, इनरुवा, धरान र धनकुटामा फोरजी सेवा सञ्चालनमा आएको छ ।
प्रदेश २ : जनकपुर, जलेश्वर, मलङ्गवा, बारा, पर्सा, सिमरा, कलैया र गौरमा पनि सेवा शुरु भएको छ ।
प्रदेश ३: धादिङ, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, विदुर, मन्थली, भीमेश्वर, सिन्धुलीमाडी, चितवन, सौराहा।
गण्डकी प्रदेश: पर्वतको कुश्मा र बाग्लुङ बजार. गण्डकी प्रदेशको प्रादेशिक राजधानी पोखरामा यसअघि नै फोर जी सेवा सञ्चालनमा आइसकेको छ।
प्रदेश ५ : तौलिहवा, बुटवल, देवदह, तुल्सीपुर, घोराही, नेपालगञ्ज र कोहलपुर
कर्णाली प्रदेश: सुर्खेत
सुदूरपश्चिम प्रदेश : भीमदत्तनगर, झलारी पिपलाडी, चौमाला र अत्तरिया
फोरजी एलटीई सेवा आगामी माघसम्म देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ। गत माघमा सम्झौता भएबमोजिम नै एक वर्षभित्र देशभर नै उक्त सेवा पुर्याउने लक्ष्य साथ काम भइरहेको छ। उक्त सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ।
सूचना तथा प्रविधिको क्षेत्रमा प्रभावकारी काम गर्ने लक्ष्यका साथ गत माघमा फोरजी सेवाका लागि आवश्यक पर्ने ‘कोर नेटवर्क’ र ‘रेडियो एक्सेस नेटवर्क’ जडानका लागि चिनियाँ कम्पनी जेडटिइ कर्पोरेशन र हङकङको सिसिएसआई कम्पनीसँग सम्झौता भएको थियो।
सम्झौताअनुसार तोकिएको अवधि पूरा हुन चार महिना बाँकी रहेको भए पनि निर्धारित समयमै काम सकिने देखिएको छ। दैनिक १६ देखि १८ घण्टासम्म निरन्तर खटिई काम सम्पन्न गरिएको थियो।




