काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा लेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ।
घरेलु मैदानमा भएको खेलमा पहिलो हाफमै १० खेलाडीमा सीमित भएको न्युक्यासल युनाइटेडलाई लेस्टर सिटीले ५–० ले पराजित गरेको हो । पहिलो हाफमा एक गोल गरेको घरेलु टोली लेस्टर सिटीले दोस्रो हाफमा चार गोल थपेको हो ।
१६ औँ मिनेटमा रिकार्डो परेइराको गोलबाट लेस्टरले सुरुवाति अग्रता लियो । ४३ औँ मिनेटमा आइजक हेडनले खराब ट्याकलका लागि रातो कार्ड पाए र न्युक्यासल १० खेलाडीमा सीमित भयो।
दोस्रो हाफमा जेमी भर्डीले दुई गोल गरे । उनले ५४ र ६४ औँ मिनेटमा गोल गरेका हुन् । भर्डीका दुई गोलको बिचमा न्युक्यासलका खेलाडीले आत्मघाती गोल गरेका थिए । ५७ औँ मिनेटमा पल डमेटले आत्मघाती गोल गरेका हुन् । ९० औँ मिनेटमा विल्फ्रेड एनडिडीले गोल गरेपछि लेस्टर ५–० ले विजयी भयो ।
जितपछि तेस्रो स्थानको लेस्टर सिटीको सात खेलबाट १४ अंक भएको छ । उ दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा दुई अंकले पछि छ । पाँच अंक मात्रै रहेको न्युक्यासल पुछारबाट दोस्रो स्थानमा छ ।




