फिफा विश्वकप छनोट : नेपालकाे कुवेतसँग लज्जास्पद हार

काठमाडौं । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसिया छनोटको दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार व्यहोरेको छ  । बिहिबार राति भएको पहिलो खेलमा नेपालले कुवेतसँग उसैको मैदानमा ७-० गोलको लज्जास्पद हार व्यहोरेको हो ।

जविर अल अहमेद ईन्टरनेश्नल मैदानमा कुवेतलाई जित दिलाउन युसेफ नासिरले दुई गोल गरे । यस्तै अब्दुल्लाह मावी  र फहाद अल हाजेरी, बदेर अल मुट्वा, रिडा हानि र हुसेन अल मोसाविले एक एक गोल गरे । बलियो टिम कुवेतविरुद्ध पहिलो हाफमा २-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप पाँच गोल खाएको थियो ।

खेलको छैटौं मिनेटमा नासिरले गोल गर्दै कुवेतलाई सुरुवाती अग्रता दिलाएका थिए । १४ औं मिनेटमा अल हाजेरीले गोल गर्दै कुवेतलाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए  । दोस्रो हाफमा नेपालमाथि कुवेतले गोलको वर्षा गर्यो । खेलको ५१ औं मिनेटमा नासिरले व्यक्तिगत दोस्रो गोल कुवेतलाई ३-० को अग्रता दिलाए । ५९ औं मिनेटमा अब्दुल्लाहले गोल गर्दा कुवेत ४-० ले अघि रह्यो ।

खेलको ८६ औं मिनेटमा अल मुट्वाले गोल गर्दै घरेलु टोलीको अग्रता ५-० को बनाए । त्यसपछि थप गरिएको इन्जुरी समयमा नेपालले दुई गोल खायो । इन्जुरी समयको चौंथो मिनेटमा हानिले गोल गर्दै कुवेतको अग्रता ६-० र इन्जुरी समयको सातौं मिनेटमा मोसाविले गोल गर्दै कुवेतलाई ७-० को जित दिलाए । कुवेतसँगको फराकिलो हारसँगै समूह ‘बी’ को नेपालले विश्वकप छनोटमा खराब सुरुवात गरेको छ । कुवेतले भने पहिलो खेलमा ३ अंक जोडेको छ ।

यस समूहमा जोर्डनले पनि विजयी सुरुवात गरेको छ । जोर्डनले चाईनिज ताईपेलाई २-१ गोल अन्तरले पराजित गरेको छ । अब नेपालले भदौ २४ गते ताईपेसँग उसैको मैदानमा खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री