काठमाडाैँ । आइसीसी टेष्ट च्याम्पियनसिप अन्तर्गत वेष्ट इन्डिजविरुद्धको पहिलो टेष्टमा भारतले कीर्तिमानी जित निकालेको छ । नर्थ साउन्डमा भएको पहिलो टेस्टमा भारतले वेस्ट इन्डिजलाई ३१८ रनले पराजित गर्दै अवे खेलमा रनको आधारमा अहिलेसम्मकै ठूलो जित हात पारेको हो।
टस हारेर इनिङ्सको सुरुवात गरेको भारत पहिलो इनिङ्समा २९७ रनमा अलआउट भएको थियो। भारतका लागि अजिन्क्या राहणेले ८१ तथा रवीन्द्र जडेजाले ५८ रनको योगदान दिएका थिए। ओपनर केएल राहुलले ४१ रन जोड्दा अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेख्य रहेन।
वेष्ट इन्डिजले पनि पहिलो इनिङ्समा उत्कृष्ट सुरुवात दिन सकेन। रोष्टन चेज र कप्तान ज्यासन होल्डर बाहेकका अन्य खेलाडीले खासै प्रदर्शन गर्न नसक्दा इन्डिज पहिलो इनिङ्समा २२२ रनमै अलआउट भयो। चेजले ४८ र होल्डरले ३९ रन जोडे।
७५ रनको अग्रतासहित इनिङ्सको सुरुवात गरेको भारतले दोस्रो इनिङ्समा राहणेको शतकको मदतले ३४३ रन जोडेको थियो। इन्डिजले जीतका लागि ४१९ रनको लक्ष्य पाएको थियो।
तर, दोस्रो इनिङ्समा केमर रोच र चेज बाहेकका कुनै पनि खेलाडीले दोहोरो अंकसमेत छुन नसक्दा इन्डिजले ठूलो हार ब्यहोरेको हो। भारतका इशान्त शर्माले आठ आठ विकेट लिए। पहिलो इनिङ्समा ५ विकेट लिएका शर्माले दोस्रो इनिनङ्मा ३ विकेट लिए। भारतका जसप्रित बुहराहले दोस्रो इनिङ्समा ५ विकेट लिए।
वेष्ट इन्डिजका केमर रोचले पहिलो इनिङ्समा ४ विकेट लिए। यस्तै, रोष्टन चेजका नाममा दोस्रो इनिङ्सको चार विकेट रह्यो।



