अघि बढ्यो सङ्घीय संसद् भवन निर्माण प्रक्रिया

काठमाण्डौ । सङ्घीय संसद्को भवन निर्माण प्रक्रिया अघि बढेको छ । सिंहदरबारस्थित पुतली बगैँचामा भवन निर्माणका लागि परेका आवेदनबाट ठेकेदार कम्पनी छनोटका क्रममा रहेको शहरी विकास मन्त्रालयले जनाएको छ । भवन निर्माणका लागि शहरी विकास मन्त्रालयले ठेक्का आह्वान गरेको थियो । अहिलेसम्म १७ कम्पनीले आवेदन दिइसकेका छन् ।

तीमध्येबाट कम्पनी छनोट गरेर काम अघि बढाइने मन्त्रालयका प्रवक्ता (सहसचिव) कृष्णप्रसाद दवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार सो योजना अघि बढाउन मन्त्रालयले कति पनि ढिलाइ गरेको छैन । सार्वजनिक खरिद ऐनअनुसार नै ठूलो रकमको ठेक्का सम्झौता गर्दा बढी समय लाग्ने उनले बताए। उनले भने, ‘प्रचलित ऐनअनुसार काम अघि बढाउँदै गर्दा ढिलाइ देखिएको हो तर मन्त्रालयले कतै पनि ढिलाइ गरेको छैन ।’

अहिले यो स्थानमा नेपाली सेना बस्दै आएको छ । सेनाको आफ्नै भवन बन्दै गरेकाले हालका लागि अस्थायी संरचनामा सर्ने गरी सहमति भएको प्रवक्ता दवाडीले बताए । उनले भने, ‘सेनाका कारण ढिलाइ हुँदैन, प्रक्रिया अघि बढिसक्यो अब काम हुन्छ ।’ यहाँ निर्माण हुने भवनहरू परम्परागत शैलीमा हुने शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ । सबै भवन वास्तुकला तथा डिजाइन काठमाण्डौको स्थानीय वास्तुकला झल्कने खालको हुने विभागका वरिष्ठ डिभिजनल इञ्जिनियर प्रकिर्ण तुलाधरले बताए । आधुनिक प्रविधिबाट निर्माण हुने भए पनि भवनमा नेपालको आफ्नो मौलिकता झल्कने उनको भनाइ छ ।

यो भवनलाई अन्तरराष्ट्रियस्तरमा समेत नेपालको इञ्जिनियरिङ र आर्किटेक्चरल उपलब्धिका रुपमा परिचित गराउने लक्ष्य लिइएको उहाँको भनाइ छ । उनले भने ‘हाम्रो आफ्नै कलाको प्रयोग गर्दै आधुनिक भवनहरू निर्माण गर्न लागिएको हो ।’ सङ्घीय संसद् भवन परिसर निर्माण आयोजनाको कूल लागत सात अर्ब रुपैयाँ रहनेछ ।

१७३ रोपनी क्षेत्रफलमा फैलने परिसरको निर्माण आव २०७८÷७९ सम्ममा सम्पन्न हुने विभागले जनाएको छ । परिसरमा गुरुयोजनालाई भवन क्षेत्र, खुल्ला हरियाली क्षेत्र, पार्किङ क्षेत्र र सडक पूर्वाधार क्षेत्र गरेर चार क्षेत्रमा विभाजन गरिएको वरिष्ठ डिभिजनल इञ्जिनियर तुलाधरले बताए। ४५ प्रतिशत क्षेत्रफलमा खुल्ला हरियाली चौर र २८ प्रतिशत क्षेत्रफलमा सडक पूर्वाधार र पानीका संरचना रहने उनले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

प्राधिकरणले आजदेखि यी ६ फिडरमा बिजुली काट्ने (सूचनासहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं उपत्यकाका ६ फिडरमा एक सातासम्म बिजुली काट्ने भएको छ । कालीमाटी, गोठाटार, ताहाचल, चौमती र मच्छेगाउँ फिडरले समेटेका वितरण क्षेत्रमा आइतबारदेखि शुक्रबारसम्म दैनिक ३ घण्टा विद्युत कटौती हुनेछ ।

प्रतिकृया दिनुहॊस