काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणका लागि एक महिनाभित्र ठेक्का सम्झौता गरिने भएको छ । सो सुरुङमार्ग निर्माणको सबभन्दा ठूलो अवरोधको रूपमा रहेको जग्गा अधिग्रहण र मुआब्जाको समस्या हल भएसँगै ठेक्का सम्झौता हन लागेको हो ।
धादिङ जिल्लामा परेका जग्गा र सोको मुआब्जाको समस्या हल हुन नसकेका कारण सो सुरुङमार्ग निर्माणका लागि ठेक्का सम्झौतामा ढिलाइ हुँदै आएको थियो । काठमाडौँ जिल्ला तर्फको जग्गाको मुआब्जा सम्बन्धी समस्याको समाधान यसअघि नै भइसकेको छ ।
सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख अर्जुनजङ्ग थापाका अनुसार जग्गा मुआब्जा वितरणबारे सम्बन्धित जग्गाधनीसँग सहमति भइसकेको छ । सहमति भएसँगै निर्माण ठेक्का सम्झौताको बाटो खुलेको उनको भनाई छ । ठेक्का सम्झौता भएको ४२ महिनाभित्र निर्माणको काम सम्पन्न हुनेछ ।
प्रमुख थापाले निर्माण कम्पनी छनोट भइसकेको जनाए पनि कम्पनीको नाम भनेबताएका छैनन् । छनोट भएका कम्पनीलाई आशयसहितको पत्र पठाइसकिएको जानकारीसमेत उनले बताए । सुरुङमार्ग निर्माणको मुख्य काम सुरु हुन अझै छ महिना लाग्ने उनको भनाई छ । विस्फोटक पदार्थ नहुँदा सुरुङमार्गको निर्माण कार्य सुरु हुनमा केही समय ढिलो हुने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका प्रमुख थापाले स्ष्पष्ट पारे ।



