तरकारीको मूल्यमा व्यापारीको मनोमानी, दुई सय प्रतिशतसम्म मूल्यवृद्धि

काठमाडौं । केहिदिन यता तरकारीको मूल्य अस्वाभाविक रुपमा बढेको छ । व्यापारीले तरकारीको मूल्य आफूखुसी बढाएका छन्। दुई साताको बीचमा तरकारीको मूल्य दोब्बरले वृद्धि हुँदा पनि नियमनकारी निकाय भने मौन बसेको छ । गत वर्ष प्रतिकेजी ३० देखि ४० रुपैयाँ पर्ने हरियो तरकारीको अहिले दोब्बर मूल्यवृद्धि भएर प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पुगेको छ ।

गोलभेंडाको बजार मूल्य प्रतिकेजी १ सय ३० रुपैयाँसम्म पुगेको छ । हरियो तरकारीको बजार मूल्य प्रतिकेजी १ सय २० देखि १ सय ५० रुपैयाँसम्म पुगेपछि सर्वसाधारणले हरियो तरकारी र सागपात खानै छाडेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार पछिल्लो समय सबैभन्दा धेरै मौसमी हरियो तरकारीको मूल्य वृद्धि भएको छ । लौका, तितेकरेला, परबल, घिरौला, हरियो फर्सी, इस्कुस, गोलभेंडाल घिउ सिमी, बोडीगायतका मौसमी तरकारीको मूल्य अकासिएको छ ।

गत आर्थिक वर्षको ११ साउनमा कालीमाटीमा गोलभेंडाको प्रतिकेजी न्यूनतम मूल्य ४० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा गोलभेंडाको मूल्य न्यूनतम १ सय रुपैयाँ र अधिकतम मूल्य १ सय १० रुपैयाँ पुुगेको समितिले जनाएको छ । कालीमाटी बजारभन्दा अन्य ठाउँमा सोही गोलभेंडाको मूल्य प्रतिकेजी १ सय ५० रुपैयाँसम्म पर्ने गरेको उपभोक्ता बताउँछन् ।

यसैगरी, गत वर्ष घिरौलाको न्यूनतम मूल्य ६० रुपैयाँ थियो । चालू आर्थिक वर्षको सोही अवधिमा घिरौलाको प्रतिकिलो मूल्य १ सय २० रुपैयाँ पुगेको छ । यो गत वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यसैगरी, गत वर्ष हरियो फर्सीको प्रतिकिलो मूल्य ६० रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको सोही अवधिमा दोब्बरले वृद्धि भई १ सय २० रुपैयाँ पुगेको छ ।

यसैगरी गत वर्ष ११ साउनमा घिउसिमीको न्यूनतम मूल्य ७० रुपैयाँ रहेकामा यो वर्षको सोही अवधिमा यसको मूल्य बढेर १ सय ३० रुपैयाँ पुगेको छ । गत वर्ष बोडीको मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेकामा यो वर्षको सोही अवधिमा १ सय देखि १ सय १० सम्म पुगेको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनले पछिल्लो केही दिनमै हरियो तरकारीमा २ सय प्रतिशत बढी र खाद्यान्न वस्तुमा ८० प्रतिशत बढी मूल्य बढेको बताए । उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमल्सिनाका अनुसार पछिल्लो समय बजारमा हरियो तरकारीदेखि माछा, मासुलगायत दैनिक उपभोग्य वस्तुको मूल्य २ सय प्रतिशतले वृद्धि भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री