काठमाडौं । चिनियाँ हवाइसेवा नेपालमा केन्द्रित हुन थालेको छ। चीनबाट सातामा ७० वटा उडान गर्ने पाँच वर्षअगाडिको समझदारीलाई अद्यावधिक गरेर सातामा ९८ पुर्याइएको छ। चीनबाट सातामा ७० उडान हुने सन्न २०१४ को समझदारीमा उल्लेख छ। अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन।
अहिले भने सातामा ५६ उडान हुँदै आएका छन्। समझदारीमा हस्ताक्षर भएको पाँच वर्षमा नेपालले चीनमा एउटै उडान गर्न सकेको छैन भने चीनले आक्रामक रुपमा नेपालमा उडान थप गर्दै लगेको छ। नयाँ समझदारीअनुसार अब काठमाडौँमा ७ वटा थप गरेर सातामा ७७ वटा बनाएको छ। बाँकी २१ वटा पोखरा र गौतम बुद्ध विमानस्थल भैरहवा तयार भएपछि त्यता उडाउने गरी अनुमति दिने समझदारी बनेको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले बताए। पोखरा र गौतम बुद्ध विमानस्थल निर्माण सम्पन्न भएपछि चीनबाट नेपालमा प्रतिसाता ९८ उडान हुनेछन्। यससम्बन्धी समझदारीमा शुक्रबार हस्ताक्षर भएको हो।
पर्यटन मन्त्रालयअन्तर्गतको हवाई उद्योग व्यवस्थापन महाशाखाका महानिर्देशक सुरेश आचार्यको नेतृत्वमा सातसदस्यीय नेपाली प्रतिनिधिमण्डलले बिहीबार र शुक्रबार चिनियाँ पक्षसँग हवाईसेवासम्बन्धी वार्ता गरेको हो। वार्तामा बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर लम्साल पनि सहभागी थिए। चीनका तर्फबाट चिनियाँ नागरिक उड्डयन ब्युरोका उपमहानिर्देशक पाई वन ली नेतृत्वको टोली सहभागी थियो। समझदारीपत्रमा आचार्य र पाईले हस्ताक्षर गरेका छन्।




