उद्धार र राहतको लागि वडा र जनप्रतिनिधिसँग सम्पर्क गर्न सरकारको अनुरोध

काठमाण्डौ । वर्षा कम भएसँगै राहत वितरणको कामलाई तिव्रता दिन थालिएको सरकारले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा पालिकाहरुले क्षतिको विवरण संकलनसँगै उद्धार र राहतको काम गरिरहेका गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार स्थानीयस्तरमा पालिका र जिल्ला विपद् व्यवस्थापन समितिले प्रदेश सरकारसँग समन्वय गरी तत्काल राहतका काम अघि बढाउन निर्देशन दिइसकिएको छ । थप स्रोतसाधनको आवश्यकता परेमा जिल्ला विपद् व्यवस्थापन समितिले गृह मन्त्रालयलाई अनुरोध गर्न सक्नेछन् । उद्धार तथा राहत नपाएका पीडितलाई आफ्नो वडा र जनप्रतिनिधिसँग सम्पर्क गर्न पनि मन्त्रालयले अनुरोध गरेको छ ।

उद्धार तथा राहतको लागि पालिकाहरुले जुनसुकै शीर्षको बजेट विपद व्यवस्थापनमा खर्च गर्न सक्नेछन् । कुन ठाउँमा कस्तो उद्धार र राहत आवश्यकता पर्छ भन्ने कुरा पालिकाहरुलाई थाहा हुने भएकाले स्थानीयस्तरमै जिम्मेवारी दिइको  गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय आपातकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख बेदनिधी खनालले बताए । तत्कालीन खाद्यान्न, पानी, औषधि, त्रिपालजस्ता अत्यावश्यक वस्तु पालिका र प्रदेशसँग समन्वय गरी जिल्ला विपद् व्यवस्थापन समितिले उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि बाढीबाट पीडितको उद्धार तथा राहतको काममा लाग्न पालिकाहरुलाई निर्देशन दिएको छ । विपद् जोखिमको न्यूनीकरण र रोकथाम गर्न, पीडितको छिटो उद्धार गरी राहत प्रदान गर्न तथा यसको कारणले हुने महामारी फैलन सक्ने अवस्थालाई समेतलाई मध्यनजर गरी उपयुक्त व्यवस्थापन गर्न जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासिन्दालाई तत्काल जुट्न मन्त्रालयले निर्देशन दिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस