सुनको भाउ ५ वर्षयताकै उच्च

काठमाडाैँ । अन्तरराष्ट्रिय बजारमा बहुमूल्य धातु सुनको भाउ ५ वर्षयताकै उच्च विन्दुमा पुगेको छ । अमेरिकाको केन्द्रीय बैंक फेडेरल रिजर्भले आगामी दिनमा ब्याजदरमा थप कटौती हुन सक्ने बताएसँगै सुनको भाउ बढेको हो ।

बिहीवार न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जको कोमेक्समा बिहानदेखि नै सुनको भाउ बढेको थियो । बिहीवार सुनको भाउ अधिकतम प्रतिऔंस १ हजार ३८६ डलर ६० सेन्टसम्म पुगेको थियो । यो ५ वर्षयताकै उच्च हो । यो समाचार तयार पार्दासम्म साँझ ४ः५५ बजे स्पट गोल्डको भाउ प्रतिऔंस १ हजार ३८१ डलर ७८ सेन्ट कायम थियो । यो अघिल्लो दिनको तुलनामा १ दशलमव ५३ प्रतिशत बढी हो । गोल्ड फ्युचर्सको भाउ पनि ३ प्रतिशत बढेर अधिकतम १ हजार ३९७ डलर ७० सेन्टसम्म पुगेको थियो । यो समाचार तयार पार्दासम्म भने १ हजार ३८५ डलर ४० सेन्टमा आइपुगेको थियो ।

बुधवार अमेरिकी केन्द्रीय बैैंक फेडेरल रिजर्भ (फेड) ले ब्याजदर यथावत् राख्ने बताएको थियो । आगामी दिनमा भने त्यसमा कटौती गर्न सकिने उल्लेख छ । अमेरिकाको सरकारी ऋणपत्रको १० वर्षे प्रतिलब्धि दर पनि २ प्रतिशतभन्दा धेरै घटेको छ । सन् २०१६ को नोभेम्बरयता पहिलो पटक यति ठूलो कमी आएको हो । सरकारी ऋणपत्रको प्रतिलब्धि दरमा आएको कमीका कारण सुनको भाउ बढेको विश्लेषकहरूको भनाइ छ ।

अमेरिका–इरान तनावले बढ्यो तेलको भाउ
बिहीवार अन्तरराष्ट्रिय बजारमा तेलको भाउ ३ प्रतिशतभन्दा धेरै बढेको छ । इरानले खाडी क्षेत्रमा अमेरिकी ड्रोन खसालेसँगै दुई मुलुकबीच उत्पन्न हुन सक्ने तनावको आशंकासँगै तेलको भाउ बढेको हो । त्यस्तै, आगामी बैठकमा ब्याजदर कटौती हुन सक्ने अमेरिकी केन्द्रीय बैंकको भनाइले पनि तेलको भाउ बढ्न सहयोग पुगेको छ ।

बिहीवार ब्रेन्ट क्रुडको भाउ ३ दशमलव ३ प्रतिशत बढेर प्रतिब्यारेल ६३ डलर ८८ सेन्ट पुगेको थियो । यो समाचार तयार पार्दासम्म साँझ साढे ५ बजे ब्रेन्ट क्रुडको भाउ २ दशमलव ८५ प्रतिशत प्रतिब्यारेल बढेर ६३ डलर ५८ सेन्टमा आइपुगेको थियो । यूएस क्रुडको भाउ पनि यो समाचार तयार पार्दासम्म ३ दशमलव ६१ प्रतिशत बढेर प्रतिब्यारेल ५५ डलर ९२ सेन्टमा आइपुगेको थियो ।

इरानले बिहीवार दक्षिणी इरानमा उडिरहेको अमेरिकी ड्रोनलाई सर्फेस टु एयर मिसाइल प्रयोग गरी खसालिएको दाबी गरेको छ । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस