काठमाडौं । भ्रष्टाचार आरोपमा विश्व बैंकले कालो सूचीमा राखेको र दक्षिण अफ्रिकी अदालतमा मुद्दा परेको कम्पनी थेल्स ग्रुपसँग नेपालले स्याटलाइट खरिद सम्झौता गर्ने भएको छ। तीन महिनाअघि समझदारीपत्रमा हस्ताक्षर भइसकेको यो कम्पनीसँग प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको क्रममा सम्झौता गर्ने तयारी छ।
हतियार, अन्तरिक्ष र सुरक्षासम्बन्धी सामान उत्पादन गर्न थेल्स ग्रुपको पृष्टभूमि विवादास्पद छ। कम्बोडियामा एक आयोजनामा भ्रष्टाचार गरेको भन्दै यो ग्रुपअन्तर्गतको थेल्स इन्जिनियरिङ कन्सल्टिङ कम्पनीलाई विश्व बैंकले सन् २००४ मा एक वर्ष कालोसूचीमा राखेको थियो। थेल्स ग्रुपभित्र भियतनाम र दक्षिण अफ्रिकामा पनि भ्रष्टाचार विवादमा मुछिएको छ।
कम्पनीलाई हतियारको ठेक्का दिलाएको र भ्रष्टाचार अनुसन्धान रोक्ने सर्तमा दक्षिण अफ्रिकाका तत्कालीन राष्ट्रपति ज्याकोब जुमाले घूस सलएको भन्दै अफ्रिकी अदालतमा मुद्दा परेको बीबीसीलगायत अन्तर्राष्ट्रि समाचार संस्थाले जनाएका छन्। मुद्दाको सुनुवाइ जारी छ। यही कम्पनीसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाको फ्रान्स भ्रमणको क्रममा गतवर्ष फागुनको तेस्रो साता समझदारी भएको थियो।
नेपाल दूरसञ्चार प्राधिकरणका कार्यवाहक अध्यक्ष पुरुषेत्तम खनाल र थेल्स ग्रुपअन्तर्गतको कम्पनी थेल्स एलेनिया स्पेसका प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए।
प्रतिकृया दिनुहॊस