भक्तपुर । भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालय अगाडि बिहिवार बिहान दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बिहान करिव ३ बजे भक्तपुर दुधपाटीबाट तिब्रगतिमा सल्लाघारीतर्फ गईरहेको बा १४ प ६३२९ नं. को स्कार्पियो सडक किनारमा रहेको रुखमा ठोक्किएर सो दुर्घटना भएको हो।
दुर्घटनामा गुल्मी घरभई हाल नयाँबानेश्वर बस्ने २३ वर्षिय गाडी चालक राजन कुँवर, त्यस्तै गुल्मी घरभई हाल कोटेश्वर बस्ने २४ वर्षिय सुन्दर बस्याल, २० वर्षिय रिसव खत्री, २० वर्षिय अमन के. सी. घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरिक्षक सविन प्रधानले जानकारी दिए। घाइते मध्ये सुन्दरलाई गम्भिर चोट लागेको छ।
उनको निधारलगायतका शरिरका अन्य भागमा समेत चोट लागेको छ। स्कार्पियो अगाडिको भागले च्यापिएका सुन्दरलाई निकाल्न ढोका नै निकाल्नु परेको प्रत्यक्षदर्शी भक्तपुर अस्पतालका एम्बुलेन्स चालक कृष्णराम कोजुले जानकारी दिए। अन्य घाइतेहरुमा राजनको अनुहारमा, रिसवको नाक र दाहिने खुट्टामा अमनको अनुहारको विभिन्न भागमा चोट लागेको प्रहरी उपरिक्षक प्रधानले बताए।
घाईते चारै जनाको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ। अत्याधि तिब्र गतिमा हुँकिएको सो स्कार्पियोले सल्लाघारीबाट दुधपार्टीतर्फ आउँदै गरेको बा २ ज २७८९ नं. को ट्याक्सीलाई समेत ठक्कर दिँदा ट्याक्सीको अगाडिको भागमा सामान्य क्षती भएको छ।



