काठमाडौं । रसुवामा टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने तीन जना बेपत्ता भएका छन्। सोमबार साँझ पोखराबाट रसुववाको आमाछोदिङ्गो गाउँपालिका जाँदै गरेको बा १० च ५८२० को टाटासुमो गोसाइँकुण्ड गाउँपालिका गुम्चेतमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको रसुवा प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ईश्वरी भण्डारीले जानकारी दिए।
मृत्यु हुनेमा रसुवाको आमाछोदिङ्गो–४ का ३२ वर्षीय नोर्बु तामाङ ३२, सोही ठाँउ बस्ने साइँली घले र मेन्दु घले रहेको प्रहरीले जनाएको छ। त्यस्तै पासाङदे घले, कामी याङ्जेन तामाङ र प्रलेतङ घले बेपत्ता भएको भण्डारीको भनाइ छ।
दुर्घटनामा पाँच जना घाइते भएको प्रहरीको भनाइ छ। प्रहरीका अनुसार घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ। उनीहरूको उपचार ग्रिनसिटी अस्पतालमा भइरहेको छ। अन्य तीन जनाको उपचार न्यूरो अस्पताल बाँसबारीमा भइरहेको प्रहरीले जनाएको छ।




