काठमााडौं । मेलाम्ची खानेपानी आयोजनामा कार्यरत कर्मचारी र विभिन्न निर्माण सामग्री आपूर्ति गर्ने स्थानीय व्यवसायीहरुले इटालिएन ठेकेदार कम्पनी सीएमसीसँगको झण्डै डेढ अर्ब रुपैयाँ बक्यौता उठाई दिन आयोजनालाई गुहारेका छन् ।
आयोजनामा कार्यरत कर्मचारी, स्थानीय व्यवसायी, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि सम्मिलित प्रतिनिधिमण्डलले शुक्रवार मेलम्ची खानेपानी विकास समितिको कार्यालयमा आफ्ना माग पूरा नभएसम्म आयोजनाको काम अघि बढ्न नदिने चेतावनी दिएको छ । प्रतिनिधिमण्डलले समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेललाई भेटेर सीएमसी कम्पनीको धरौटी रकमबाट बक्यौता रकम भराई दिन माग गरेको छ ।
सीएमसी कम्पनीका प्रतिनिधि अन्तिम समयमा आएर गत डिसेम्बर १५ मा आयोजनमा कार्यरत ८५० जना मजदुरको तलब भत्ता र ५० स्थानीय व्यवसायीको डेढ अर्ब रुपैयाँ बाँकी राखेर अकस्मात सबै काम छोडेर नेपालबाट भागेका थिए । सो कम्पनीको नेपालमा हाल धरौटी र भुक्तानी लिनुपर्ने रकम गरी झण्डै रू. तीन अर्ब बाँकी रहेको आयोजनाले जानकारी दिएको छ ।
भेटमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्नुहुने सांसद एवम् पूर्वमन्त्री शेरबहादुर तामाङले स्थानीय व्यवसायीले आयोजनामा नै निर्माण सामग्री आपूर्ति गरेकाले मुख्य ठेकदार भागे पनि आयोजना पक्षसँगै रकम माग राख्नु स्वभाविक भएको बताए । साथै उहाँले विदेशी ठेकेदार कम्पनीको धरौटी रकमबाट स्थानीय व्यवसायी बक्यौता भराई दिने कानून नभए पनि सरकारले कुनै कानूनी बाटो निकालेर समस्या समाधान गर्नुपर्ने धारणा व्यक्त गरे ।
समितिका कार्यकारी निर्देशक कँडेलले मेलम्ची आयोजनाका कर्मचारीको तलब भत्ता र स्थानीय व्यवसायीको बक्यौताको समस्या सम्बन्धमा अध्ययन समिति बनाउने निर्णय भई सकेको बताउँदै स्थानीयका माग र समस्या समाधान गर्न समिति सकारात्मक रहको जानकारी दिए ।
नेपाली काङ्ग्रेस सिन्धुपाल्चोकका क्षेत्रीय सभापति आइतमान तामाङले स्थानीय जनताले काम गरेको भुक्तानी नपाउनु दुःखद् भएको बताउँदै स्थानीयका समस्या समाधान गरेर मात्र आगामी दिनमा आयोजनाको काम अघि बढाउन सरकारलाई सुझाव दिए ।
स्थानीय व्यवसायी किरण थापा र राजकुमार भट्टराईले आयोजनालाई निर्माण सामग्री आपूर्ति गर्ने क्रममा उपकरण खरीद र मजदुरको पारिश्रमिकका लागि लिएको ऋणको भार थपिँदै गएको गुनासो गर्दै तत्काल बक्यौता रकम उपलब्ध गराउन समितिले पहल गर्नुपर्ने माग गरे ।
आयोजनाका कर्मचारी देवीरमण अधिकारीले ८५० कर्मचारीको चार महिनाको तलब भत्ता भुक्तानी लिन बाँकी रहेको बताउँदै आयोजना सम्पन्न गर्न आफूहरु सधैँ तयार रहेको समेत अवगत गराए ।




