काठमाडाैं । विश्वकै धनी जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जी बेजोसले आफ्नो आधा सम्पत्ति दान गर्ने प्रतिबद्धता जनाएकी छिन्। जेफसँग छुट्टिएको केही महिना नबित्दै म्याकेन्जीले यस्तो घोषणा गरेकी हुन्। उनले विश्वका धनाढ्यलाई सम्पत्ति दान गर्न प्रेरित गर्ने ‘गिभिङ प्लिज’मा प्रतिबद्धतासम्बन्धी हस्ताक्षर गरेको बताइएको छ।
गिभिंग प्लिज एउटा दान गर्न प्रेरित गर्ने क्याम्पेन (आग्रहमूलक अवधारणा) हो। यसका संस्थापक वारेन बफेट र बिल गेट्स हुन्। दुवै संस्थापक संसारका धनाढ्य हुन्। सन् २०१० मा स्थापित यो क्याम्पेनमा १ सय ९१ जनाले हस्ताक्षर गरेका छन्। हाल २ सय ४ जनाले यसको समर्थन गरेका छन्। यो वर्षको सुरुतिरै जेफसँग डिभोर्सपछि म्याकेन्जी पनि संसारकै धनाढ्य सूचीमा सूचीकृत भएकी थिइन्।
उनी ब्लुमबर्ग बिलेनियर्स इन्डेक्समा २२औँ धनीमा सूचीकृत छिन्। उनको व्यक्तिगत सम्पत्ति ३६ अर्ब ६० करोड अमेरिकी डलर रहेको छ। त्यस्तै उनका पूर्वपति जेफ संसारकै धनीको पहिलो नम्बरमा छन्। उनीसँग १ सय १४ अर्ब डलर सम्पत्ति रहेको छ। आफूले उपयुक्त समयमा दानमा आफ्नो सम्पत्ति खर्चिने उनले बताएकी छिन्। मंगलबार उनले प्रतिबद्धता पत्र लेखेको बताइएको छ।




