अफगानिस्तानद्वारा पाकिस्तान पराजित

एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेट अघिको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको छ । शुक्रबार भएको अभ्यास खेलमा अफगानिस्तानले पाकिस्तानलाई ३ विकेटले हराएको हो ।

ब्रिस्टोलमा पाकिस्तानले दिएको २६३ रनको लक्ष्य अफगानिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । अफगानिस्तानको जितमा हाम्सतउल्लाह शहिदिले अविजित ७३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हजरतउल्लाह जाजईले ४९, मोहमद नाबीले ३४ तथा रहमत साहले ३२ रन बनाए । पाकिस्तानका वहाब रियाजले ३ तथा इमाद वासिमले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४७ ओभर ५ बलमा अलआउट हुँदै २६२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजमले ११२ रनको शतकीय इनिङ्स खेले । यस्तै सोयब मल्लिकले ४४ तथा इमाम उल हकले ३२ रन बनाए ।

अफगानिस्तानका मोहमद नाबीले ३ तथा राशिद खान र डलट जाड्रनले २/२ विकेट लिए ।  इंग्ल्याण्ड र वेल्समा हुने विश्वकपको तयारीका लागि दुवै राष्ट्रले अभ्यास खेलेका हुन् । विश्वकप यहिँ मे ३० बाट सुरु हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री