काठमाडाैँ । चितवन जिल्ला दूधमा आत्मनिर्भर भएको छ । आन्तरिक उत्पादनले जिल्लामा दूधको माग पूरा गर्ने भएपछि औपचारिक रुपमा आत्मनिर्भर घोषणा गर्न तयारी तीव्र पारिएकाे जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष रत्नमणि न्यौपानेले बताए ।
दैनिक तीन लाख लिटर दूध उत्पादन हुन थालेको चितवनलाई चितवनमा ६० प्रतिशतले जिल्लाको माग धान्ने गरेको छ । ४० प्रतिशत दूध काठमाडौं, पोखरा, हेटौंडालगायतका शहरमा पुग्दछ ।
जिल्लामा उत्पादन भएको आधा दूधले यहाँको जनसङ्ख्यालाई पुग्ने भएपछि आत्मनिर्भर जिल्ला घोषणाको तयारी गरिएको सङ्घका अध्यक्ष न्यौपानेले बताए ।
चितवनमा १३७ दुग्ध उत्पादक सहकारी सङ्घसंस्था छन् । भरतपुर महानगरपालिकामा ५२, रत्ननगर नगरपालिकामा २१, कालिका नगरपालिकामा आठ, खैरहनी नगरपालिकामा २३, राप्ती नगरपालिकामा छ र माडी नगरपालिकामा एउटा दुग्ध सहकारी संस्थाले उत्पादित दूध बजार पठाउने गरेका छन् ।
चितवन कृषि तथा पशुपक्षीको क्षेत्रमा आत्मनिर्भर जिल्लाको रूपमा रहेको छ ।
आत्मनिर्भर जिल्ला घोषणाका लागि जिल्लामा दूध किसानको तथ्याङ्क सङ्लकन गरेर मन्त्रालयमा पठाउन लागिएको संस्थाका सचिव किशोर बगालेले बताए । “स्थानीय सरकारले गर्नुपर्ने काम स्थानीय सरकारकै समन्वयमा किसानले गर्न लागेका छौँ”, उनले भने ।
साविकको जिल्ला पशुसेवा कार्यालयले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने पटकपटक प्रतिबद्धता जनाएको थियो तर बजेट अभावको कारण देखाउँदै कार्यान्वयन गरेको थिएन ।
अन्य जिल्लामा भन्दा बढी दूध उत्पादन हुँदासमेत आत्मनिर्भर जिल्ला घोषणा नगरिएकै कारण चितवन सरकारको आँखामा पर्न नसकेको राष्ट्रिय दुग्ध विकास बोर्डका सदस्य भागिरथ तिमल्सिनाले बताए ।
दूधमा आत्मनिर्भर जिल्ला घोषणा गरेपछि विभिन्न सङ्घसंस्था तथा सरकारबाट समेत अनुदानका कार्यक्रम आउने तिमल्सिनाको भनाइ छ ।
सरकारको नजरमा काभ्रे मात्रै पर्ने गरेको उल्लेख गर्दै तिमल्सिनाले त्यहाँभन्दा चितवनमा गुणस्तरीय र धेरै दूध उत्पादन हुने गरेको जिकिर गरे ।
चितवनलाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाएसँगै यहाँका किसानलाई समेत आत्मनिर्भर बनाउनुपर्ने भैसीपालक किसान इन्द्रमणि गैरेको भनाई छ ।
दूधको उत्पादनभन्दा बिक्री मूल्य थोरै रहेको, अनुदान कुम्ल्याउनका लागि किसान बन्ने गरेको जस्ता समस्या समाधान गर्न सकेको खण्डमा मात्रै किसानसमेत आत्मनिर्भर हुने उनले बताए ।
“कतिपय अस्थायी किसान बन्ने र अनुदान पाएपछि पेशा छाड्ने प्रवृत्ति बढी देखिएकाले किसान आत्मनिर्भर हुन सकेका छैनन्” उनले भने “त्यो प्रबृत्ति रोक्नुपर्छ ।”
चितवनका किसानले दूधको मूल्य नपाएको भन्दै बेला बेलामा सडकमा नै दूध पोखेर सरकारको ध्यानाकर्षण गर्दै आएका छन् ।
असली किसान पहिचान गर्दै उनीहरुलाई अनुदान दिएर भए पनि यस पेशामा टिकाउनसमेत जिल्लालाई दूधमा आत्मनिर्भर घोषणा गर्न लागिएको अगुवा किसान बताउँछन् ।
सरकारले देशलाई नै अण्डा, मासु र दूधमा आत्मनिर्भर बनाउने घोषणा गरिसकेको अवस्थामा दूधमा चितवनलाई आत्मनिर्भर बनाउनु खुसिको कुरा भएको स्थानीयको भनाइ छ ।
प्रतिकृया दिनुहॊस